काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
बिहीवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले पहाडी भू–भागका थोरै स्थान तथा तराई भूभागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाइएको छ ।
बिहीवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने पहाडी भू–भागका थोरै स्थानहरू तथा तराई भूभागका १–२ स्थानमा अपराह्नतिर मेघगर्जन र चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बिहीवार राति पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।