
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफूलाई राष्ट्रपतिमा जिताएको सम्पूर्ण संघीय सांसद र प्रदेश सांसदलाई धन्यवाद दिएका छन्। शनिवार राष्ट्रपति निवासमा चियापान समारोह आयोजना गर्दै राष्ट्रपति पौडेलले धन्यवाद ज्ञापन गरेका हुन्।
बिहान ९ बजेका लागि डाकिएको चियापानमा पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय आफ्नो प्रमुख दायित्व भएको बताए। ‘संविधानको पालना र संरक्षण गर्ने विषय मेरो अबको प्रमुख दायित्व र कर्तव्य हुनेछ भन्ने प्रष्ट पार्न चाहान्छु’, राष्ट्रपति पौडेलले भने, ‘गणतान्त्रिक नेपालको राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति म सदैव सचेत छु र भविष्यमा पनि रहनेछु।’
राष्ट्रपति पौडेलले आफू दिगो शान्ति र सुशासनको पक्षमा सदैव तत्पर रहेको उल्लेख गर्दै राष्ट्रलाई स्थायित्व दिनु नै सबैको परम कर्तव्य भएको बताए। ‘राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसाथ गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहनेछु,’ पौडेलले भने, ‘यो संविधानले नेपालका तमाम जनतालाई असीम अधिकार प्रदान गरेको छ। यसलाई जगेर्ना गर्दै राष्ट्रलाई स्थायित्व दिनु हामी सबैको परम कर्तव्य हो किनभने पटकपटकका नयाँ नयाँ प्रयोग नेपालले थाम्न पनि सहज नहोला।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend