काठमाडौं । नेकपा एमालेले देशको कार्यकारी व्यक्तिको अभिव्यक्ति विश्वसनीय हुँदैन भने देश र जनतामा कस्तो प्रभाव पर्ला भन्ने प्रश्न गरेको छ ।
सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि संसदमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले एमालेसँगको सहमति तोडेकोप्रति प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका हुन् ।
उनले सोधे, ‘मुलुकको प्रधानमन्त्री जस्तो पदाधिकारीले बोलेको कुराको कुनै अर्थ हुन्छ कि हुँदैन ? राष्ट्रपतिमा कांग्रेसले अघि सारेको उम्मेदवारलाई समर्थन गरौँ भन्ने उहाँलाई लाग्यो तर नेपाली कांग्रेस नेपालमा छ, संसदमा छ र कांग्रेसले पनि राष्ट्रपतिमा उम्मेदवारलाई अघि सार्न सक्छ भन्ने कुरा पुष १० गते किन बिर्सनु भयो ?
बचनको विश्वसनीयता हेक्का राख्नुपर्ने विषय भएको बताउँदै एमाले उपाध्यक्ष विष्णु पौडेलले सोधे, ‘तपाईलाई के कारण पर्यो एमालेसँगको सहमति तोड्नुपर्यो ?’
प्रधानमन्त्री प्रचण्डले आज दोस्रो पटक संसदमा विश्वासको मत लिँदैछन् ।