काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बदलिएको राजनीतिक व्यवस्था अनुरुप जनताको अवस्था बदल्न सरकार दृढ संकल्पित रहेको बताएका छन् । आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न केन्द्रित रहेको दोहोर्याउँदै प्रधानमन्त्री दाहालले त्यसका लागि आफूले राष्ट्रिय सहमती र सहकार्यमा जोड दिएको पनि स्पष्ट पारे ।
लायन्स क्लव अफ इन्टरनेशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा विद्यमान समस्याहरुको समाधानका लागि सरकारलाई साथ दिन निजी क्षेत्र, सामाजिक संंघ, संस्था र नागरिक अगुवाहरुलाई समेत आग्रह गरे । मुलुकमा विद्यमान निराशालाई चिर्दै अघि बढने काममा सरकार लागि परेको उल्लेख गर्दे प्रधानमन्त्री दाहालले त्यस काममा लायन्स जस्ता सामाजिक संघ, संस्थाहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे ।
उनले भने, ‘वर्तमान सरकार राज्य, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक आन्दोलनको सहकार्यको आधारमा देशमा विद्यमान आर्थिक, राजनीतिक चुनौतिहरु छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न संकल्प गर्दछ । मैले संकल्प गरेको छु कि तेस्रो मेरो कार्यकाललाई चुनौतिपूर्ण अवसरको रुपमा लिएको छु । तसर्थ, यस कार्यकालमा बदलिएको राजनीतिक व्यवस्था अनुरुप जनताको अवस्था बदल्नु, निराशालाई चिर्दै देशमा आशाको रक्त सञ्चार सृजना गर्नु, राष्ट्रिय सहमती र सहकार्यका आधारमा चुनौतिहरुलाई अवसरमा बदल्नु मेरो दृढ संकल्प रहेको छ । सरकारको यस संकल्पमा समेत यहाँहरुको सकारात्मक सहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु ।’
प्रधानमन्त्री दाहालले दूरदराजमा रहेका विपन्न सबै समुदायसम्म पुगेर त्यहाँका युवाहरुको नेतृत्व विकास गर्नेगरी नीति, कार्यक्रम र कार्ययोजना बनाउन पनि लायन्स क्लवहरुको ध्यानाकर्षण गराए । लायन्स क्लवहरुले सहरमा मात्रै केन्द्रित नभई पछि परेका/पारिएका युवाहरुलाई पनि अघि बढाउने गरी कार्यहरु अघि बढाउनुपर्ने उनको भनाई थियो । प्रधानमन्त्री दाहालले भने, ‘आजको विकसित परिस्थिति र समावेशी लोकतन्त्रको मान्यता अनुरुप यस्तो क्लवहरुले आफ्नो कार्यक्षेत्र र दायरा अझ फराकिलो बनाउन आवश्यक छ । यसका निम्ति सहर केन्द्रित सहर केन्द्रीत शैक्षिक युवकहरुमा मात्रै होइन । दूरदराजमा रहेका परिवर्तनप्रति अभिरुची राख्ने सामाजिक रुपान्तरणको आन्दोलनमा योगदान पु¥याउन सक्ने विपन्न, सिमान्तकृत महिला, दलित, जनजाति, मधेशीलगायत सबै वर्ग र समूदायका युवासम्म पुगेर उनीहरुको नेतृत्व विकास गर्ने नीति र कार्यक्रमको पनि आवश्यक्ता छ । आगामी दिनमा यसमा लायन्सले समेत आफ्ना नीति, कार्यक्रम र कार्ययोजनामा उल्लेखित विषय सम्बोधन गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’
प्रधानमन्त्री दाहालले मुलुकको पछिल्लो विकसित परिस्थिति र समावेशी लोकतन्त्रको मान्यता अनुसार सामाजिक संघ, संस्थाहरुले पनि आफ्नो कार्यक्षेत्रको दायरा फराकिलो बनाउन जरुरी रहेको समेत बताए । त्यस अवसरमा उनले विपदमा परेका बेला लायन्स क्लवहरुले खेलेको भूमिका प्रशंशनीय रहेको पनि बताए ।