logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सेती नदीको दोहन रोक्न संरक्षण अभियान

    सेती नदीको दोहन रोक्न संरक्षण अभियान

    3.2K
    Shares
    सेती नदीको दोहन रोक्न संरक्षण अभियान

    कास्की । अन्नपूर्ण हिमशृङ्खलाबाट उद्गम भई कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको मध्यभाग भएर बग्ने सेती नदीको संरक्षणका लागि संरक्षण अभियान सुरु भएको छ ।

    नदीबाट अवैज्ञानिक रूपमा नदीजन्य सामग्रीको उत्खननले नदी तीव्र रूपमा कुरूप हुँदै गएपछि संरक्षणका लागि अभियान सुरु गरिएको हो । केही वर्षदेखि नदीबाट तीव्र रूपले ढुङ्गा, बालुवा र गिट्टीको उत्खननले वातावरणीय असर पर्न थालेपछि प्रभावित क्षेत्रका नागरिकले अभियान सुरु गरेका हुन् ।

    सेती नदीबाट बढ्दो सहरीकरणले माग गरेको नदीजन्य सामग्रीको दोहन रोकी नदीको संरक्षण र वैज्ञानिक उपयोग गर्नका लागि अभिप्रेरित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरी अभियान सुरु गरिएको अभियन्ता हेमराज पौडेलले बताए ।

    नदी संरक्षण अभियानलाई संरक्षण संस्थाका रूपमा अघि बढाउँदै सेती नदीको वैज्ञानिक नक्साङ्कन गर्नका लागि सरोकारवाला निकायमा पैरवी गरिने उनले बताए । उनले भने, “सेती नदी संरक्षणको वैज्ञानिक योजना निर्माण गरी लागू गर्नका लागि तीनै तहका सरकारसँग पैरवी र सहकार्य गर्नेछौँ ।”

    सेती नदी र यसका मुख्य सहायक नदीहरूको जलाधारलगायत जल, जमिन, जङ्गल, भौतिक पूर्वाधार र धार्मिक तथा सांस्कृतिक स्थल र संरचनाको संरक्षण र वैज्ञानिक उपयोगसम्बन्धी जनसमुदायमा सचेतना फैलाउने र दोहनको खबरदारी गर्ने गरिने पौडेलले बताए ।

    सुरुआतमा सेती नदी बचाउ अभियानको कार्यक्षेत्र पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिका रहेको छ । वडाहरूमा सेती नदी बचाऔँ जनअभियानका भेलाहरू भएर वडा स्तरीय समिति गठन गरिएको छ । सेती बचाउ अभियानले यसअघि पोखरा महानगरपालिका–१९ र माछापुच्छ्रे गाउँपालिकाको सेती नदीको तटीय क्षेत्रमा विनाश बढेको भन्दै उत्खनन बन्द गर्न उच्च अदालत पोखरामा रिट दायर गरेको थियो ।

    सेती नदीबाट ढुङ्गा, माटो, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थको जथाभाबी उत्खनन भइरहेको विषयमा परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यही चैत ८ गते तत्काल उत्खनन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशपछि समेत उत्खनन नरोकिएको भन्दै अभियन्ताहरूले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

    सेती नदी र मर्दी नदी दोभान आसपास डोजर, एक्साभेटरलगायतका सामग्री प्रयोग गरी नदी दोहन भइरहेको भन्दै पौडेलले अदालतमा रिट निवेदन दिएका थिए । यसबीच सेती संरक्षण अभियानको शनिबार भएको भेलाले अभियन्ता पौडेलको अध्यक्षतामा सेती संरक्षण संस्था दर्ता गर्ने गरी तदर्थ समिति गठन गरिएको हो ।

    समितिको उपाध्यक्षमा धर्मराज बास्तोला, सचिव सोमनाथ पौडेल, सहसचिव केशवराज अधिकारी र कोषाध्यक्ष सीता पौडेल रहेकी छिन् भने सदस्यमा धरेन्द्रनारायण पौडेल, भुवन पोखरेल, घनश्याम तिमिल्सिना, श्रीप्रसाद घले र चन्द्रा थापा अधिकारी रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend