काठमाडौं । वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा दिन शुरु गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकहरुबाट जानकारी पाउने भएका छन् ।
टेलिमेडिसिन सेवा बुधवार (चैत १५ गते) बिहान १० बजेदेखि शुरु हुनेछ । यही विषयमा विदेशमा रेहका नेपालीहरु कस्तो कस्तो रोगको विषयमा परामर्श लिन पाउँछन् ? निःशुल्क परामर्श मात्रै हो वा औषधि पनि निःशुल्क दिने सुविधा छ वा छैन लगायतको विषयमा न्युज एजेन्सी नेपालले वैदेशिक रोजगार बोर्ड सचिवालयका उप–सचिव तथा सूचना अधिकृत राजन पौडेलसँग संक्षिप्त कुराकानी गरेको छ ।
प्रश्नः वैदेशिक रोजगारमा रहेका नेपालीलाई निःशुल्क ‘टेलिमेडिसिन’ सेवा कहिले देखि लागू हुन्छ ?
उत्तर–वैदेशिक रोजगारीमा रहनुभएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुका लागि लक्षित गरेर वैदेशिक रोजगार बोर्डको सचिवालयले टेलिमेडिसिन सेवा शुरु गर्न लागि रहेको छ । नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानुभएको छ । उहाँहरुलाई परेको कुनैपनि स्वास्थ्य समस्याको बारेमा प्रवद्र्धनात्मक सेवा दिने उदेश्यले यो सेवा शुरु गरेका छौं । जसमा ९८५१३४५७०१ र ९८५१३४५७०२ दुई वटा नम्बरको भाइबर, हृवाट्सएप र इमो वा सामाजिक सञ्जालबाट फोन गर्न सक्नुहुन्छ । फोन गरेपछि उहाँहरुलाई मेडिकल अधिकृतसँग भिडियोमा परामर्श गराउँछौं । मेडिकल अधिकृतसँग गरेको परामर्शले उहाँलाई भएन भने उहाँलाई ठूलो स्वास्थ्य सेवा आवश्यक भयो भने हरेक दिन हरेक हप्ताको बुधवार र शुक्रवार दुई दिन स्वास्थ्यका विशेषज्ञहरुसँगको सेवा पनि दिन्छौं ।
वैदेशिक रोजगारीमा रहनुभएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको स्वास्थ्यलाई प्रवद्र्धन गर्नको लागि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा शुरु गर्न लागेको हो । अनलाइन प्रणालीका यो सेवाको शुरुवात हुन्छ । विदेशमा रहनुभएका बिरामीले डाक्टरसँग परामर्श गरेपछि उहाँहरुलाई आवश्यक पर्ने प्रेसक्युप्सन सामाजिक सञ्जालमार्फत नै उपलब्ध गराउँछौं । डाक्टरले भनेको औषधि कार्यरत रहेको देशमा रहेन्छ भनेपनि नेपालमा भएका कुनै आफन्तबाट मगाउन सक्नुहुनेछ । यसरी उपचार गर्ने पद्धतिको रुपमा विकास गर्न खोजिएको छ ।
प्रश्नः कस्ता किसिमका बिरामीले परामर्श गर्न सक्नुहुन्छ, सबै प्रकारका बिरामीले परामर्श लिनसक्ने हो ?
उत्तर–सबै प्रकारका बिरामीहरुले विशेषयज्ञहरुसँग परामर्श गर्न सक्नुहुन्छ । तर जसलाई तत्काल आकस्मिक उपचार आवश्यक छ, उसलाई उपयुक्त हुँदैन । उहाँहरु तत्काल भएको स्थानको अस्पतालमा जानुपर्छ । पछिल्लो समय वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई नसर्ने रोगहरुको प्रकोप धेरै देखिएको छ । मुटुसम्बन्धि,मिर्गौला सम्बन्धि, बल्डप्रेसर सम्बन्धि र मानसिक किसिमका समस्याहरु तिब्रगतिमा बढीरहेको छ । यसरी नसर्ने रोगबाट मृत्युहुनेहरुको संख्या पनि बढीरहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नसर्ने रोगबाट कसरी जोगाउने बढी प्राथमिकता दिन खोजिएको हो । सर्ने रोगहरुको हकमा तत्काल उपचार गर्नुपर्ने अवस्थामा टेलिमेडिसिन’ सेवा धेरै प्रभावकारी रहन सक्दैन । उहाँहरुले पनि नसर्ने रोगमा प्राथमिकता दिनुभयो भने राम्रो हुन्छ ।
प्रश्नः वैदेशिक रोजगारीका लागि नेपालीहरुको गएको देशमा उपचार पद्धति फरक रहेको भन्ने पाइन्छ, त्यस्तो अवस्थामा नेपालबाट औषधि नै पठाउनु पर्दा कति सजिलो हुन्छ टेलिमेडिसिन’ सेवामार्फत ?
उत्तर–यसका दुई वटा फेजहरु शुरु गर्न खोजिरहेका छौं । पहिलो वर्ष बोर्डले अनलाइनमार्फत मात्रै काम गर्न खोजिरहेका छौं । श्रम मन्त्रालयले टेलिमेडिसिन’ सेवाका लागि छुट्टै कार्यविधि बनाएको छ । कार्यविधिले नेपाली वैदेशिक रोजगारीमा गएको मुलुकमा नै गएर सेवा दिनसक्छौं भन्ने छ । तर पनि यो वर्ष अनलाइनमार्फत सेवा दिइरहन्छौं । यो सेवा प्रभावकारी भयो भने अर्को वर्षदेखि गन्तव्य मुलुकमा नै गएर सेवा दिने सोचेका छौं । अर्को कार्यविधिले गन्तव्य मुलुकका डाक्टरहरु हायर गरेर पनि सेवा दिनसक्ने व्यवस्था गरेको छ । नेपालीहरुको धनत्व धेरै भएको क्षेत्रमा गन्तव्य मुलुकका डाक्टरहरु हायर गरेर सिधा सेवा दिनसक्ने व्यवस्था गरिएको छ । तर यो अर्को वर्षमा मात्रै शुरुवात हुनेछ । अहिलेको लागि सामान्यतया परामर्श सेवा हो । यो उपचारात्मक विधि भन्दा पनि प्रवद्र्धनात्मक विधि हो । विदेशमा भएका नेपालीलाई नसर्ने रोग नलागोस् । लागे पनि कम्तिमा बच्नसक्ने गरी यो काम शुरु गरेका हौं ।
प्रश्नः विदेशबाट डाक्टरसँग परामर्श गर्दा खानुभनिएको औषधि विदेशमा पठाउन बोर्डले पढाउँछ, विदेशमा औषधी पठाउन कति सजिलो छ ?
उत्तर–औषधि पठाउनको लागि बोर्डले सहयोग गर्दैन । औषधि पठाउनको लागि बिरामीको परिवारले नजिकमा भएको आफन्तबाट पठाउने व्यवस्था मिलाउनु पर्छ । अहिले विदेशमा बस्ने श्रमिकहरुले लगेको औषधि समेत खानुभएको छैन । डाक्टरसँगको परामर्श दिँदा खानुहुन्छ । अहिले मानसिक रुपले धेरै मानिसहरु कमजोर हुनुहुन्छ । त्यसमा डाक्टरको सल्लाह अनुसार मनोपरामर्श सेवा दिनसक्छौं र विरामीको मानसिक स्वास्थ्य स्वस्थ्य हुनसक्छ ।
प्रश्नः बोर्डले कुन अस्पतालसँग समन्वय गरेर यो कार्य शुरु गरेको हो, लागत पनि लाग्छ खर्च व्यवस्थापनको पक्ष के छ ?
उत्तर–बोर्डले वीर अस्पतालसँग सम्झौता गरेर कार्य शुरु गर्न लागेको हो । वीर अस्पतालका दुई जना कर्मचारीलाई बोर्डले तलव सुविधा दिन्छ । एक जना मेडिकल अधिकृत र हेल्थ असिस्टेनलाई नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक उपलब्ध गराउँछौं । विशेषयज्ञहरुको हकमा एक पटकको भिजिटमा प्रति भिजिट एक हजार रुपैयाँ उपलब्ध गराउने छ । चालु आर्थिक वर्षको बजेटमा १५ लाख बजेट छुट्याएको छ । सेवा प्रभावकारी भयो भने अर्को वर्ष बजेट थप गरेर सेवालाई निरन्तरता दिन्छौं ।