काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले चितवन–२ मा त्रिपक्षीय भिडन्त हुने टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसले रैथानेलाई उम्मेदवार बनाएपछि चुनावी भिडन्त त्रिपक्षीय हुने देखिएको उनले टिप्पणी गरेका छन् ।
एमालेले चितवन–२ का लागि आज उम्मेदवार सिफारिस गर्ने पक्कापक्की रहेको बताउँदै उनले देशकै एक प्रमुख पर्यटकीय गन्तव्यमा चुनाव एकपक्षीय नभएर त्रिपक्षीय भिडन्ततर्फ जाने देखिएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशकै एक प्रमुख पर्यटकीय गन्तव्य जिल्ला चितवन–२ मा कांग्रेसले रैथाने जितनारायण श्रेष्ठलाई टिकट दिएपछि कांग्रेसजनमा उत्साह नै पैदा गरेको देखियो । शायद एमालेले आज नै टिकट सिफारिस गर्ने पक्कापक्की छ । चुनाव एकपक्षीय नभै त्रिपक्षीय भिडन्ततर्फ जाने देखियो ।’
४ मंसिरमा भएको निर्वाचनमा चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका थिए । नागरिकतासम्बन्धी मुद्दा हारेपछि उनको सांसद पद गुम्दा उपनिर्वाचन हुन लागेको हो ।