काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नेपाली राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट पेश भएको छ ।
लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै सिन्धुलीका युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् । सर्वोच्च अदालत प्रशासनले उक्त रिट सच्याउनुपर्ने भएकाले निवेदकले नै लगेको बताएको छ । प्रवक्ता बिमल पौडेलले भने, ‘रिट आइपुगेको छ, ‘अध्ययनपछि केही सच्याउनपर्ने भएकाले उहाँ (युवराज सफल) ले लिएर जानु भएको छ ।’
रिट निवेदक युवराज सफलले सर्वोच्च प्रशासनले रिटमा केही सुधार गर्न आग्रह गरेको बताए । रिटमा रवि लामिछानेविरुद्ध राहदानीका विषयमा मुद्दा नचल्ने भनी ६ चैतमा महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय कार्यान्वयनमा रोक लगाउन माग गरिएको छ ।
त्यस्तै रविले अमेरिकी नागरिक हुँदैमा नेपालको राहदानी कुन–कुन समयमा के– के प्रयोजनका लागि प्रयोग गरेका थिए भन्ने विवरण अध्यागमन विभागबाट झिकाउन पनि माग गरिएको छ ।