
काठमाडौं। अमेरिकाले आईसीसी विश्वकप छनोटमा स्थान बनाएको छ। मंगलबार भएको विश्वकप छनोटको प्लेअफमा २५ रनले जर्सीलाई हराउँदै विश्वकप छनोटमा आफ्नो स्थान पक्का गरेको हो ।
जितसँगै अमेरिकाले पाँच खेलबाट आठ अंक जोड्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छ्नोटमा स्थान बनाएको हो। अमेरिकाले प्लेअफका पाँच खेलमध्ये चार जित र एक हारको नतिजा निकालेको छ। चार खेलबाट दुई अंक जोडेको जर्सी तालिकाको पाचौं स्थानमा छ।
मंगलबार नामिबियाको विन्डोहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा अमेरिकाले प्रस्तुत गरेको २३२ रनको लक्ष्य पछ्याउने क्रममा जर्सीले ४७.४ ओभरमा सबै विकेट गुमाएर २०६ रनमात्र बनायो।
यस्तै प्लेअफमै मंगलबार भएको अर्को खेलमा नामिबियाले क्यानडालाई पराजित गरेको छ। पहिला ब्याटिङ गरेको नामिबियाले क्यानडालाई २६८ रनको लक्ष्य दिएको थियो।
उक्त लक्ष्य भेटाउने क्रममा क्यानडाले ४२.२ ओभरमा १५६ रन मात्र बनाउन सक्यो। जितसँगै पाँच खेलबाट ६ अंक जोडेको नामिबिया तालिकाको दोस्रो स्थानमा छ। चार खेलबाट चार अंक जोडेको क्यानडा चौथो स्थानमा छ।
आगामी जुनदेखि जुलाईसम्म जिम्बाब्वेमा हुने विश्वकप छनोटमा लिग-२ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्डसँगै सुपर लिगका पुछारका पाँच र प्ले अफका शीर्ष दुई गरी कूल १० टोली हुने छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend