चितवनमा वडाध्यक्षका लागि भएको स्थानीय निकायको उपनिर्बाचनमा वडाहरुमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवारहरुलाई पराजित गर्दै नेपाली काँग्रेसले जित हाँसिल गरेको छ नेकपा अध्यक्ष प्रचण्डको निर्बाचन क्षेत्र अन्तर्गत भएकोले यहाँको चुनाबी नतिजाले बिशेष चर्चा भएको छ । यस अघि ती तीनवटा वडाहरुमा अघिल्लो पटक दुई वटामा नेपाली कांग्रेस र एउटामा तत्कालीन नेकपा (एमाले) का उम्मेदवार विजयी भएका थिए । अहिले सबै तीनवटै वडामा कांग्रेसका उम्मेदवारहरु जितेका छन् ।
भरतपुर महानगरपालिका–१६ नेकपाले गुमाएको छ । स्थानीय तह निर्वाचनमा तत्कालीन एमालेले प्यानल नै जितेको यो वडामा वडाध्यक्ष चर्तुमान गुरुङको क्यान्सरका कारण निधन भएपछि उपचुनाव भएको हो । तर पार्टी एकीकरणपछि पनि नेकपाले यो वडा जोगाउन सकेन । यो वडा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवन–३ अन्तर्गत पर्दछ ।
दाहालले मंसिर ९ मा भरतपुर–१६ को चुनावी सभालाई सम्बोधन गरेर मत मागेका थिए । तर निर्वाचनमा कांग्रेसका अमृत हमालसँग नेकपाका उम्मेदवार भक्तराज हमाल पराजित भए । असोज ३० र कात्तिक २६ मा सदरमुकाम भरतपुरमा आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष दाहालले पार्टीको आन्तरिक समस्या, अनुशासनहिनता र गुटबन्दीप्रति चिन्ता जाहेर गर्दै एक भएर पार्टीका उम्मेदवारलाई मतदान गर्न अपिल गरेका थिए ।
उपनिर्वाचन भएका अन्य दुई स्थान खैरहनी नगरपालिकाको वडा नम्बर ४ र ५ मा यसअघि कांग्रेसका उम्मेदवारहरु विजयी भएका थिए । सवारी दुर्घटनामा दुवैजना वडाध्यक्षहरुको निधनपछि भएको उपनिर्वाचनमा पनि कांग्रेसकै उम्मेदवारहरु विजयी भए । खैरहनी–४ मा कांग्रेसका देवबहादुर बस्नेतसँग नेकपाका बेदबहादुर अधिकारी पराजित भएका छन् ।