काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले बञ्चरे डाँडामा फालिएको फोहोर अवलोकनका लागि संसदीय टोली पठाउन माग गरेका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बञ्चरे डाँडामा व्यवस्थित रुपमा फोहोर फाल्ने भनिएपनि अव्यवस्थित रुपमा फोहोर फालिँदा झनै किचलो बन्दै गएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले त्यहाँका समस्या समाधानका लागि संसदीय समिति बनाइ एक टोली त्यहाँको निरीक्षण र अवलोकनका लागि जानुपर्ने बताए । उनले वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्ने भनेर बनाइएको पोखरीमा पनि अहिले फोहोरको डंगुर भरिएकोप्रति आपत्ति जनाए ।
उनले स्थानीयहरु घरमा बस्नै नसक्ने अवस्था रहेको र स्थानीहरुले समस्या समाधानको माग गर्दा सरकारले प्रहरी प्रशासन लगाएर स्थानीयमाथि ज्यादती गरेको बताए । उनले उक्त क्षेत्र हवाइ रुट भएकाले पनि दुर्घटना निम्तिनसक्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे ।
उनले भने, ‘करिव करिव २५ वर्षअघिबाट काठमाडौं उपत्यकामा जम्मा भइरहेको फोहोर, झन्डै ५० लाख जनताले गर्ने फोहोर धादिङ र नुवाकोट जिल्लामा, धादिङको धुनीबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको बञ्चरे डाँडा भन्ने ठाउँमा फ्याँक्ने काम भएको छ । केही समयअघि सिसडोलमा फालिन्थ्यो, अहिले बञ्चरे डाँडामा फालिन्छ । त्यो अव्यवस्थित ढंगले फालिएको छ । वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्ने भनेर बनाइएको पोखरीमा पनि अहिले फोहोरको डंगुर छ । फोहोरबाट निस्किएको झोल छ । घरमा बस्न नसकिने अवस्था छ । त्यहाँ फोहोर वैज्ञानिक ढंगले व्यवस्थापन गर्नको लागि फोहोरलाई माटोले प्रत्येक दिन छोप्न त्यहाँका जनताले आग्रह गर्दा सरकारले प्रहरी लगाएर वारेन्ट जारी गरियो, युवाहरुमा यातना दिइएको छ । त्यहाँ लगेर फोहोर गिद्ध चिलहरुले एक ठाउँबाट अर्को ठाउँमा उडाएर लैजान्छ, हवाई रुट भएकाले जुन कुनैबेला पनि दुर्घटना हुनसक्ने आँकलन गर्न सकिन्छ । सभामुख ज्युलाई अनुरोध गर्छु, संसदीय एक टोली बनाएर त्यो ठाउँमा हेर्न, कस्तो छ हेर्न पठाउन अनुरोध गर्दछु ।’
सांसद पाण्डेले कोल्पो खोलामा फोहोर बगाउन बन्द गर्न आग्रह गरे ।