
म्युनिख जर्मनी । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासको आठौँ युरोप महादेशीय कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैसकेको छ।
आगामी १४ र १५ अप्रिलका दिन जर्मनीको म्युनिख शहरमा युरोप महादेशस्तरीय आठौँ नृत्य र पाचौं गायन प्रतियोगितासहित आयोजना हुने इनासको आठौँ युरोप क्षेत्रीय सम्मेलनलाई क्षेत्रीय समिति र आयोजक राष्ट्र इनास जर्मनी लगायतका युरोप क्षेत्रभित्र रहेका राष्ट्रिय समितिहरुको प्रत्यक्ष सहकार्य तथा सहभागितामा सम्पन्न हुनेछ।
इनास युरोपले यसपटक गायन प्रतियोगिताका लागि निर्णयाकहरुमा गायिका शर्मिला बर्देवा, नलिना चित्रकार र गायक रुपक डोटेल त्यसैगरी नृत्यतर्फ जगत खड्का, बिष्णु मल्ल र पार्वती अधिकारी लाई नियुक्त गरिएको इनास युरोपका संयोजक प्रकाश तिवारीले जानकारी दिएका छन्।
प्रतियोगितामा यसपटक बिभिन्न राष्ट्रहरुबाट अडिसन मार्फत छनौट भएका र इनास युरोपमा प्रत्यक्ष रुपमा आवेदन दिएका प्रतियोगी कलाकारहरु मध्यबाटगायन तर्फ बिभिन्न राष्ट्रबाट ८ जना प्रतियोगीले भाग लिने भएका छन् भने नृत्यतर्फ १० जना प्रतियोगीहरुले प्रतिष्पर्धा गर्न लागेको संयोजक तिवारीले जनाएका छन्।
आउँदो अप्रिल १४ र १५ तारिख आयोजना गरिएको यस दुई दिने कार्यक्रमको पहिलो दिन इनास युरोप महादेश अन्तर्गतका राष्ट्रिय समितिहरुको बैठक, प्रगति विवरण र भावी योजना प्रस्तुत् हुनेछ भने दोश्रो दिन आठौँ युरोप महादेशस्तरीय एकल नृत्य र पाचौं एकल गायन प्रतियोगिता सम्पन्न हुनेछ।
युरोपस्थित बेलायत, फ्रान्स, बेल्जियम, अष्ट्रिया, जर्मनी, डेनमार्क, नेदरल्याण्ड, इटाली, पोल्याण्ड, स्पेन, पोर्चुगल, फिनल्याण्ड, स्विटजरल्याण्ड, चेक गणतन्त्र, नर्वे, आइसल्याण्ड लगायतका मुलुकहरुबाट ठूलो संख्यामा कलाकार, साहित्यकार पत्रकार, नेपाल सरकारका प्रतिनिधिहरु, युरोप स्थित नेपाली कुटनैतिक निकायका पदाधिकारीहरु, गैर आवासीय नेपाली संघ लगायत अन्य संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहने यस कार्यक्रममा अन्य महादेशहरुबाट समेत इनास र अन्य संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने र बाहिर बाट आउने अतिथिहरुलाई स्वागत गर्न आफुँहरु सम्पूर्ण रुपमा तयार भएको आयोजक राष्ट्र इनास जर्मनीका अध्यक्ष सुनिल गुरुङ्ले बताएका छन्। साथै गुरुङले कार्यक्रमका लागि स्वत स्फुर्तरुपमा स्वेच्छाले आर्थिक अन्य बिभिन्न माध्यमबाट सहयोग गर्ने संघ संस्था तथा ब्यक्ति व्यक्तित्वहरु प्रति आभार व्यक्त गरेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend