
काठमाडौं । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चुनेर मंसिर २०७८ मा १४औं महाधिवेशन सम्पन्न गरेको दल नेपाली कांग्रेसले महाधिवेशनको १६ महिना बित्दा पनि पार्टीको नीति तय गर्न सकेको छैन।
१४औं महाधिवेशनबाट नेतृत्व चयन गरेर पार्टीको नीतिका लागि ६ महिनाभित्र छुट्टै अधिवेशन गर्ने निर्णय गरे पनि महाधिवेशनको १६ महिना बित्दासम्म कांग्रेस नीतिविहीन अवस्थामा छ । नीति निर्धारण नहुँदा कांग्रेसको मार्गदिशा नै अनिश्चित बनेको छ ।
कांग्रेसले १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवालाई चयन गरेको थियो भने पार्टीमा उपसभापति दुईसहित महामन्त्री दुई र विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी आठ जना सहमहामन्त्री निर्वाचनमार्फत चुनेको थियो ।
यस्तै, कांग्रेसले १४औं महाधिवेशनलाई नेता र नेतृत्व छान्ने महाधिवेशनका रूपमा लिएर नीति तय गर्न विधानमा भएको सुविधालाई प्रयोग गर्दै ६ महिनाभित्र छुट्टै नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
कांग्रेस विधानको दफा १७ (५) मा केन्द्रीय महाधिवेशनको कार्यविधि उल्लेख छ । जसमा ‘महाधिवेशनबाट पार्टीको केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था गर्ने र नीति निर्माण तथा विधान पारित गर्न फरक फरक समयमा महधिवेशन गर्न सकिने छ,’ भनिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend