काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा आजदेखि सुरु हुँदै छ । उद्योगी व्यवसायीहरूको छाता संस्था महासङ्घको ५७ औँ साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।
आजबाट सुरु हुने साधारणसभाले वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बिद्यानत स्वतः अध्यक्षमा चयन हुनेछन् । नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भोलिबाट निर्वाचन हुनेछ ।
वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी दिएका छन् ।
साधारण सभाले महासङ्घको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन हुने छन् ।
यसैगरी, वस्तुगत सङ्घबाट १४ जना, उद्योग वाणिज्य सङ्घबाट १८ जना, एसोसिएट कार्यसमितिबाट १९ जना र जिल्लाबाट ७ जना सदस्य केन्द्रिय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछन् ।