
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आगामी आर्थिक वर्षको बजेटमा पत्रकारका मुद्दा सम्बोधनका लागि बजेट विनियोजनका लागि आग्रह गरेको छ ।
महासङ्घका अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले आज अर्थमन्त्री डा प्रकाशशरण महत र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई छुट्टाछुट्टै भेट गरी पत्रकारका माग सम्बोधनका लागि आग्रह गरेको हो ।
भेटमा आगामी आवको बजेटमा पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवाका लागि बजेट विनियोजन गर्न माग गरिएको महासङ्घ अध्यक्ष पोखरेलले जानकारी दिए। उनका अनुसार महासङ्घलाई भौतिक पूर्वाधार निर्माणका साथै ‘न्यू मिडिया’का सञ्चालक, पत्रकार र सम्पादकहरूलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालनका लागिसमेत आवश्यक बजेट विनियोजन गर्नका लागि माग गरिएको छ ।
अर्थमन्त्री महतले मुलुक आर्थिक सङ्कटको अवस्थामा रहेको र बजेट विनियोजनमा मितव्ययिता अपनाउनुपर्ने अवस्था आएको भन्दै सोही परिधिभित्र रहेर माग सम्बोधन गर्ने आश्वासन दिएको अध्यक्ष पोखरेलले जानकारी दिए। सञ्चारमन्त्री शर्माले पनि माग सकारात्मक भएको भन्दै सम्बोधनका लागि आफूले प्रयास गर्ने बताएकी थिइन्।
भेटमा अध्यक्ष पोखरेलसहित वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, कोषाध्यक्ष कलेन्द्र सेजुवाल, पूर्वमहासचिव पोषण केसी तथा महासङ्घका लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरीलगायत रहेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend