काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रकृति र संस्कृतिमा विविधा रहेका कारण पनि पृथक परिचय स्थापित रहेको बताएका छन् । इन्ट्रा–नेश्नल वेलफेयर एन्ड सपोर्ट फाउन्डेशन अमेरिकाले गरिरहेको ‘मेरो भ्वाइस इनिभर्स र मेरो डान्स इनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारहरुलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल बहुजातीय तथा बहुसांकृतिक विविधतायुक्त मुलुक भएको उल्लेख गरे ।
राष्ट्रपति पौडेलले नेपालमा जात धर्ममामात्र विविधता नभई प्रकृति र संस्कृतिमा पनि विविधता भएको विचार व्यक्त गरे ।
उनले नेपालमा आर्य, मंगोल र आग्नेय परिवारका समुदायको समिश्रित संस्कृति रहेको बताउँंदै यी सबैलाई मिलाउन सकेमा नेपाली नेपालीबीचको एकता बलियो हुने धारणा व्यक्त गरे ।
राष्ट्रपति पौडेलले नेपालीहरुको विश्वका कुना कुनामा पुगेको बताउँंदै विदेशमा रहेर पनि नेपालीले आफ्नो पहिचान र संस्कृति जोगाउने अभियानमा लागेकोमा इन्ट्रा–नेश्नल वेलफेयर एन्ड सपोर्ट फाउन्डेशनको प्रशंसा गरे । नेपालको संस्कृति विश्वसामु चिनाउनका लागि फाउन्डेशनले अझै थप काम गर्नुपर्ने राष्ट्रपति पौडेलको सुझाव थियो ।
फाउन्डेशनले आफ्रिकाभन्दा बाहेकका ६ महादेशका विभिन्न देशबाट र नेपालबाट मेरो भ्वाइस इनिभर्स र मेरो डान्स इनिभर्समा नेपाली संस्कृति र पहिचान झल्कने नृत्य र गायन प्रतियोगिता गरिरहेको छ । गायनतर्फ १ सय २० जना र नृत्यतर्फ १ सय २० जना कलाकारको सहभागीता रहेको फाउन्डेशनले जनाएको छ ।