काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव तथा सांसद देवेन्द्र पौडेलले सरकारलाई सफल बनाउने दायित्व नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाको पनि भएको भन्दै सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् । आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव पौडेलले सरकारलाई सफल बनाउने जिम्मेवारी गठबन्धन दलका प्रमुख नेता भएकाले काँग्रेस महामन्त्री थापाको पनि भएको बताए ।
उनले थापाले सार्वजनिक मञ्चहरुबाट सरकारको आलोचना गरिरहेको भन्दै आलोचनाले सरकार सफल नहुने बताए । उनले सरकारको आलोचना नगरी सहयोग गर्न आग्रह गरे । उनले गठबन्धनलाई जोगाएर जनताको अपेक्षा अनुसारको काम गर्नुपर्ने बताए । पौडेलले सरकारका कमी, कमजोरीका बारेमा सल्लाह, सुझाव दिनुपरे प्रधानमन्त्रीलाई भेटेर दिन महामन्त्री थापालाई आग्रह गरे ।
उनले भने– ‘गगन थापा हाम्रो गठबन्धनको मुल पार्टीको प्रमुख व्यक्ति हुनुहुन्छ । सरकारलाई सफल बनाउने दायित्व उहाँको पनि हो । आलोचना गरेर मात्रै सफल हुन्न । सहयोग गरेर पनि सफल हुन्छ । त्यसकारणले यो गठबन्धनलाई जोगाउने र गठबन्धनबाट जनताका डेलिभरीका कामहरु गर्नको निम्ति टेबलमा बसेर उठेका विषयहरु सुझाव दिएर सफल बनाउने होला नि सरकारलाई गठबन्धनले । विरोध गरेर सरकार सफल हुन्न । सहयोग गरेर सफल हुन्छ । मेरो सुझाव के छ भने त्यसप्रकारका कमी कमजोरी छन् भने प्रधानमन्त्रीसँग समय लिएर, उपप्रधानमन्त्रीसँग समय लिएर उहाँले सुझाव राख्दा राम्रो ।’
सचिव पौडेलले माओवादी आन्दोलनलाई पुनःजीवित गर्नुको विकल्प नभएको बताए । उनले माओवादी घटकहरु छिटोभन्दा छिटो एकतावद्ध हुनुपर्ने बताए । उनले एकतावद्ध हुन ढिलो गरे ढुङ्गा खाने स्थिति आउनसक्ने उल्लेख गरे ।
उनले भने– ‘एकता आवश्यक छ । ढिलो भएको छ । साथीहरु किन ढिलो गर्नुभएको छ ? सिनियर साथीहरु जसले माओवादी छोडेर केही गर्छौं भन्नुभएको थियो उहाँहरुले पनि गम्भिरतापूर्वक सोच्न जरुरी छ । र माओवादी भित्रका हामीहरुले पनि छिटोभन्दा छिटो माओवादी आन्दोलनलाई पुनःजिवित गर्नको निम्ति अगाडी बढ्नुको विकल्प छैन । त्यसको निम्ति सबै माओवादी घटकहरुलाई म विशेष अनुरोध गर्न चाहन्छु, अब ढिला नगरौँ । ढिला नगरौँ, ढिला गर्दा ढुङ्गा खाने स्थिति आउनसक्छ । त्यसकारण छिटोभन्दा छिटो पुनःगठित हुने, शक्ति आर्जन गर्ने र अगाडी बढ्नुको विकल्प छैन ।’
सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा(माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारको आलोचना गर्नु राम्रो नभएको बताए । उनले महामन्त्री थापालाई उत्तेजनामा नभई सोच, विचार गरेर बोल्न आग्रह गरे ।
उनले भने– ‘अहिलेपनि सरकारमा जाने मामिलामा, बोल्दा त उहाँहरु आवश्यकता चाहीँ हो अहिलेको भन्नेकुरा नै बोल्नुहुन्छ । तर सरकारलाई नजिक बसेर सहयोग गर्ने भन्दापनि आलोचना बढी गरिराख्नुभएको छ । यो राम्रो कुरा होइन सरकारमा रहेको पार्टीले र जिम्मेवार नेताले । सामान्य सांसदले बोल्ने कुरा एउटा कुरा हो उहाँ त महामन्त्री नि हो । उहाँले बोल्नेकुरा अलिकति ध्यान दिएर, धेरै कुरा सोच विचार गरेर बोल्नुप¥यो । उत्तेजनामा आएर जे मनलाग्यो त्यही बोलिहाल्ने भन्दापनि सोच विचार गरेर बोल्नुपर्छ ।’
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीप्रति अमर्यादित र अशिष्ट टिप्पणी गरेको भन्दै खेद प्रकट गरे । उनले पन्तले प्रतिनिधि सभा नियमावली विपरित प्रधानमन्त्रीप्रति टिप्पणी गरेको भन्दै बिरोध जनाए । उनले सांसद पन्तले आफू सदनमा आएको कुरा नै बिर्सेर संसदलाई गाईजात्रा ठानेको बताए ।
उनले भने– ‘संसदमा माननीय रघुजी पन्तले प्रधानमन्त्रीप्रति गरेको टिप्पणी अमर्यादित, अशिष्ट र अपमानजनक छ । प्रधानमन्त्री हराएको भनेर, यो सदन त कुनै गाइजात्रा होइन । रघुजी पन्तले म सदनमा आएको छु भन्ने कुरा नै बिर्सिनुभयो । सदन भनेको नीति, निर्माणको थलो हो । यहाँ व्यक्तिगत टिप्पणी गर्न पाइँदैन । व्यवस्थित ढंगले सरकारका कमजोरीहरुको आलोचना गर्न पनि पाइन्छ । तर व्यक्तिगत लाञ्छना, टिकाटिप्पणी, अमर्यादित, अस्वभाविक, अशिष्ट र अपमानजनक ढंगले उहाँले जो अभिव्यक्ति गर्नुभयो यो खेदजनक छ ।’
सांसद दाहालले प्रतिपक्ष दललाई व्यवस्थित ढंगले सरकारको आलोचना गर्न आग्रह गरे ।