काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा आईतवार विभागीय टोली एपिएफ संकटा क्लवसँग १–० गोल अन्तरले पराजित भएको छ ।
ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा एपिएफले नौ खेलाडीमा सिमित भएको संकटाबिरुद्ध फाइदा उठाउन सकेन । यससँगै एपिएफ फुटबल क्लवले शहीद स्मारक ‘ए ’ डिभिजन लिगमा लगातार दोस्रो हार व्यहोरेको हो । पहिलो हाफमा संकटाका जुनियर एनकुन्गुएले पेनाल्टीबाट गरेको गोल नै निणार्यक बनेको थियो । शुरुवात प्रतिष्पर्धात्मक बनेको खेलको २८ औं मिनेटमा एनकुन्गुएले पेनाल्टीमार्फत गोल गरेका हुन् । एपिएफका विदेशी खेलाडी रक्षक एडमा डोम्बियाले आयुष घलानलाई पेनाल्टी बक्सभित्र लडाएपछि संकटाले पेनाल्टीको अवसर पाएको थियो । पछि परेको एपिएफले दोस्रो हाफमा खेलमा फर्किन निकै प्रयास गरेपनि सफल हुन सकेन ।
यसअघि १३ औं मिनेटमा संकटाका निशान खड्काको फ्रिकिक एपिएफका गोलकिपर युरी कुरियामाले बचाएका थिए । ४४ औं मिनेटमा पनि निशानको प्रहारमा गोलकिपर कुरियामा नै बाधक बनेका थिए । ६८ औं मिनेटमा दुवै टोली १० खेलाडीमा सिमित हुन पुगे ।
पहेँलो कार्ड व्यहोरिसकेका एपिएफका दीपेश धिमाल र मनिष डांगीबीच एकआपसमा घम्साघम्सी हुँदा दुवैले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान छाडेका थिए । १० खेलाडीमा झरेको संकटा सात मिनेटपछि नौ खेलाडीमा सिमित बन्यो । रेफ्रीलाई अपशब्द बोलेको भन्दै आन्द्रे थियरी बियिकले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान बाहिरिन पुगेका थिए । अन्त्यतिर नौ खेलाडीमा सिमित भएको संकटाबिरुद्ध एपिएफले थप फाइदा उठाउन सकेन र अंक सुम्पिन बाध्य बन्यो ।
यस जितसँगै संकटाले नौ खेलमा चार जित, तीन बराबरी र दुई हारको नतिजासहित १५ अंक जोडेको छ । पराजय ब्यहोरेको एपिएफको समान खेलमा तीन जित, दुई बराबरी र चार हारसहित ११ अंक छ ।