logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सेक्युरिटी प्रिन्टिङमा ६९ करोड घोटाला

    सेक्युरिटी प्रिन्टिङमा ६९ करोड घोटाला

    1.2K
    Shares
    सेक्युरिटी प्रिन्टिङमा ६९ करोड घोटाला

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङका आवश्यक उपकरण खरिद र पूर्वाधार निर्माण गर्दा ६९ करोड घोटाला भएको ठहरसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौजनालाई प्रतिवादी बनाएर आयोगले आइतबार मुद्दा दायर गरेको हो ।

    उनीहरूले अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गरेको, एउटा देशबाट ल्याउने सम्झौता भएको सामान अन्तैबाट ल्याएको, खरिद सम्झौताविपरीत सामान स्वीकार गरेको, कामै नगरी भुक्तानी दिएको र अनावश्यक पूर्वाधार निर्माण गरी सरकारी सम्पत्तिमा हानि–नोक्सानी तथा दुरुपयोग गरेको अख्तियारको दाबी छ ।

    अख्तियारले कार्यकारी निर्देशक पौडेलविरुद्ध ६९ करोड आठ लाख ८१ हजार आठ सय ५४ रुपैयाँ बिगो कायम गरेको छ । त्यस्तै, त्यतिखेर शिक्षा मन्त्रालयबाट केन्द्रमा प्रतिनिधि रहेका र हाल वन मन्त्रालयमा कार्यरत सिडिई नवीनकुमार पोखरेलविरुद्ध ४९ करोड ४६ लाख ३५ हजार नौ सय ४५ रुपैयाँ, तत्कालीन समयमा केन्द्रमा प्रतिनिधि रहेका र अहिले राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलविरुद्ध २० करोड ३८ लाख ९३ हजार आठ सय २७ बिगो निर्धारण गरिएको छ ।

    प्रेस खरिद हुँदा सुरक्षण मुद्रण केन्द्रमा शाखा अधिकृत रहेका र हाल राष्ट्रिय समावेशी आयोगमा कार्यरत मनिकमान महर्जनविरुद्ध तीन करोड ४४ लाख ६८ हजार सात सय २९, केन्द्रमा लेखा अधिकृतबाट सेवानिवृत्त भइसकेका रामबहादुर बुढाविरुद्ध १९ करोड ८८ लाख ९४ हजार दुई सय ८९, तत्कालीन समयमा मुद्रण केन्द्र र अहिले जिल्ला समन्वय समिति काठमाडौंमा कार्यरत शाखा अधिकृत शिरीष उपाध्यायविरुद्ध ४० करोड एक लाख ३९ हजार सात सय ४६ बिगो दाबी गरिएको छ ।

    त्यस्तै, इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालिका प्रबन्ध–निर्देशक रोहितमान प्रधानविरुद्ध २३ करोड ४४ लाख ९६ हजार नौ सय २१, मेपटेक बिल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जनविरुद्ध ४३ करोड ५७ लाख ४२ हजार तीन सय ६८ र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध–निर्देशक मित्रलाल गुरौविरुद्ध आठ लाख ६९ हजार बिगो दाबी गरिएको छ । सुरक्षण मुद्रणका लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा ठेकेदारसँग मिलेमतो गरी आर्थिक घोटाला गरेको भन्दै गत १२ असोजमा उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको थियो ।

    काभ्रेको पनौती नगरपालिका– ७ स्थित आइटी पार्कमा सेक्युरिटी प्रिन्टिङ प्रेस सञ्चालन गर्न आवश्यक उपकरण र पूर्वाधार स्थापना गर्न दुई ठेक्कामध्ये पहिलोको सम्झौता १० फागुन ०७५ र दोस्रोको ६ पुस ०७६ मा भएको थियो । दुवै ठेक्का एउटै कम्पनी ‘इन्जिनियरिङ मार्केटिङ कन्सर्न’ले पाएको थियो । दुवै ठेक्काको लागत अनुमान ७० करोड ४८ लाख ८२ हजार थियो । सम्झौता भने ६८ करोड ९० लाख ६४ हजार तीन सय ९७ मा भएको थियो ।

    सुरक्षण मुद्रण केन्द्रले यो आयोजना अघि बढाएको थियो । पहिलो ठेक्का ५ कात्तिक ०७६ मा सम्पन्न भएर १८ मंसिरमा अन्तिम भुक्तानी भएको थियो भने दोस्रो ठेक्का १९ साउन ०७७ मा सम्पन्न भएर १४ असार ०७८ मा अन्तिम भुक्तानी भएको थियो । पहिलो ठेक्काबापत ४८ करोड ७० लाख ६१ हजार नौ सय ७३ र दोस्रोमा १९ करोड ६२ लाख ४५ हजार नौ सय नौ रुपैयाँ भुक्तानी गरिएको थियो । आजको नयाँपत्रिकामा खबर छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend