पौष ३ काठमाडौं नेपाल सरकारले अंग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर पोखरास्थित शाही राजाको दरबार रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ। नेपाल ट्रष्टको स्वामित्वमा रहेको रत्न मन्दिर यहि पुष १६ गते अर्थात जनवरी १ तारिखदेखि खोल्ने तयारी गरिएको हो ।
नेपालमा राजतन्त्रको अन्त्यसँगै गणतन्त्र आएपछि राज परिवारको नाममा रहेका सम्पती नेपाल ट्रष्टमा ल्याउँदा पोखराको रत्न मन्दिरपनि आएको थियो । नेपाल ट्रष्टमा आएपनि रत्न मन्दिर हालसम्म सर्वसाधारणका लागि खुल्ला गरिएको थिएन ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पुस १६ गते औपचारिक कार्यक्रमसहित रत्न मन्दिर खुला गर्ने तयारी सरकारको छ।
रत्न मन्दिरलाई खुला गरेर पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने आवाज यहाँका जनप्रतिनिधि तथा पर्यटन व्यवसायीले उठाउँदै आए पनि लामो समयपछि यसले सार्थकता पाउन लागेको हो। सोही क्षेत्रका प्रदेश सांसद तथा युवा संघका पुर्वअध्यक्ष राजीव पहारीले सो मन्दिर खुलाउन सांसद बिकास कोषबाट २५ लाख समेत छुट्टाएका थिए ।
रत्न मन्दिर खुला गर्ने पूर्वतयारी तथा अन्य व्यवस्थापकीय कार्यका लागि नेपाल ट्रस्टका सदस्य सचिव राजेश्वर ज्ञवाली तथा ट्रस्ट सञ्चालक समिति सदस्यको टोलीले चार दिनसम्म पोखरामा रहेर सरोकार भएकासँग छलफल गरेको छ।
टोलीले प्रदेश सरकार, पोखरा महानगर तथा पर्यटन व्यवसायीसँग यसबारेमा छलफल गरेको थियो। सदस्य सचिव ज्ञवालीले दरबार खुला गर्ने निश्कर्षमा ट्रस्ट पुगे पनि अन्तिम निर्णय भइनसकेको बताए ।
राजधानी पुगेर ट्रस्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग थप छलफल गरेर निर्णय लिइने ज्ञवालीले बताए। दरबार खुला गर्नेबारेमा मन्त्री पोखरेलले नै अन्तिम निर्णय गर्ने बताइएको छ। ट्रस्टको पोखरा कार्यालयमा कार्यरत ११ जना कर्मचारीबाट नै व्यवस्थापनको कार्य गर्ने तयारी गरिएको छ।
दरबार खुला गर्नका लागि निरन्तर आवाज उठाउँदै आएका सोही क्षेत्रका प्रदेशसभा सदस्य राजीव पहारीले अब खुला गर्ने विषयमा कुनै पनि अवरोध नरहेको बताए। फेवाताल जलाधार क्षेत्र र रत्न मन्दिर संरक्षणका लागि सोही क्षेत्रका प्रदेश सांसद तथा युवा संघका पुर्वअध्यक्ष राजीव पहारीले चालू वर्षमा पूर्वाधार विकास कार्यक्रमको रु दुई करोड बजेटमध्येबाट रु २५ लाख विनियोजन गरेको जानकारी दिए।
रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन्। परिसरभित्र प्रशासनिक भवन, फेवातालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवन छ।