काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी देखिएको बताएका छन् ।
शनिवार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो समय कम्युनिष्ट आन्दोलनमा मात्र नभइ देशको समग्र राजनीतिमा र आर्थिक विकासको प्रक्रियामा नै विचार, सिद्धान्त, मूल्य, आदर्शमा विचलन देखिएको दाबी गरे । उनले समाजमा देखिएका अराजकताका कारण खतरा पैदा हुने हो की भन्ने डर पलाएको बताए । उनले गत निर्वाचनमा विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई एजेण्डालाई भन्दा मान्छे सेन्टिमेण्टलाई प्रश्रय दिएकोप्रति दुःख व्यक्त गरे । उनले समाजमा यस किसिमका गतिविधि बढ्दै जाँदा बुद्धिजीविहरुले हस्तक्षेपकारी भुमिका खेल्नुपर्ने बताए ।
उनले लामो संघर्ष र बलिदानबाट आएका पार्टीहरु, त्यसका नेताहरुप्रति जति सजिलै नराम्रा अभिव्यक्ति दिन समाज लागिपरेको बताए । उनले लेख, रचनाहरुतिरहरु भन्दा सोसल मिडिया, युट्युब, टिकटकमा लागेर मानिसहरु क्षणिक उत्तेजना, क्षणिक आवेग रअराजक गतिविधिलाई अंगाल्ने परिपाटी विकसित हुँदै गएको बताए ।
उनले भने, ‘विचारमा विचलन देखापरेको छ । अहिल खालि कम्युनिष्ट आन्दोलन भित्र मात्रै पनि होइन, देशको समग्र राजनीतिमा पनि आर्थिक विकासको प्रक्रियामा पनि विचार, सिद्धान्त, मूल्य, आदर्शबाट विचलनतिर राजनीति जाला की भन्ने खतरा पैदा भएको छ । भर्खरै गएको निर्वाचनमा पनि विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई एजेण्डालाई भन्दा मान्छे सेन्टिमेण्टलाई भावनालाई, आवेगलाई अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्दो देखिन्छ । यस्तो बेलामा बौद्धिक पक्षबाट बुद्धिजीविबाट अलि हस्तक्षेप बढ्न जरुरी छ । वैचारिक वहस चलाउन जरुरी छ । अहिले कतै न कतै लामो संघर्ष र बलिदानबाट आएका पार्टीहरु, त्यसका नेताहरुप्रति जति सजिलै र धेरै तल उत्रिएर गाली गलौज देख्नेगरी अहिले वैचारिक विषयहरु वा यस खालका लेख, रचनाहरुतिरहरु भन्दा सोसल मिडिया, युट्युब, टिकटकमा मान्छे लागेका छन् । त्यसले मान्छेलाई क्षणिक उत्तेजना, क्षणिक आवेगमा ल्याउने र त्यसरी समाजलाई अराजक बनाउने खतरा पैदा भएको छ ।’
प्रधानमन्त्री दाहालले इतिहासको चक्कालाई धकेल्न खोज्ने प्रवृत्ति देखापरेको भन्दै रोक्ने चुनौति आफूसमक्ष रहेको बताए ।