काठमाडौँ, ४ पुस
नेपाल प्रहरीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठलाई बन्धक बनाउने एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विसं २०६७ जेठ ४ गते बेलुका अस्पतालबाट घर फर्कने क्रममा अपहरण गरी १८ दिन बन्धक बनाउने कार्यमा संलग्न गौतम योञ्जनलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले डा श्रेष्ठलाई बन्धक बनाउने समूहका एक सदस्य रहेका योञ्जनलाई महाराजगञ्जबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
“मानिस अपहरण तथा शरीर बन्धक मुद्दामा पुनरावेदन अदालत हेटौँडाको विसं २०७० माघ १३ गतेको फैसलाअनुसार योञ्जनलाई नौ वर्ष कैद र रु ५० हजार जरिवाना ठहर भएकाले फैसला कार्यान्वयनका लागि पक्राउ गरेका हौँ”, उहाँले भन्नुभयो । डा श्रेष्ठलाई बन्धक गरेर धादिङ, काठमाडौँ, नुवाकोटलगायत जिल्लामा राखिएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका योञ्जनलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्युरोले जनाएको छ । (रासस)