महोत्तरी । महोत्तरीको गौशालामा केहीदिन अगाडि विष सेवनबाट मृत्यु भएकी स्थानीय आरती शाहलाई परिवारका सदस्यले हत्या गरेको आरोप लगाउँदै दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीय महिला सञ्जालले गरेको अन्दोलनलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले १३ राउण्ड अश्रुग्यास र ९ राउण्ड हवाई फायर गरेको छ।
सोमबार गौशाला नगरपालिका–४ मल्हिनियाँ पोखरीमा स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयले प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले आफ्नो बचाउमा हवाई फायर गरेको हो ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादव र सशस्त्र प्रहरी वेस क्याम्पका प्रहरी निरीक्षक शंकर थापा घाइते भएपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरी अवस्था सामान्य बनाइएको प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले दिएको जानकारी दिए ।
प्रहरीका अनुसार सो घटनाका मुख्य आरोपी मृतकका श्रीमान् उमेश साहलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाए पनि पीडित मृतककी माइती पक्ष र स्थानीय महिला सञ्जालले कारबाहीको माग गर्दै आज बिहानैदेखि आन्दोलन सुरु भएको थियो ।
अहिले त्यहाँको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।