काठमाडौँ । अष्ट्रेलिया पठाइदिने प्रलोभनमा पारेर रकम उठाउँदै ठगी गरेको आरोपमा एक यूवती पक्राउ परेकी छिन् । सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ स्थाई घर भई हाल काठमाडौँ महानगर वडा नं. १ स्थित लाजिम्पाट बस्दैआएकी २५ वर्षीया सयना श्रेष्ठलाई अपराध अनुसन्धानबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।
श्रेष्ठले अमृता गुरुङलाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाईदिन्छु भन्दै अष्ट्रेलिया जानको लागि तीन लाख रुपैयाँ लाग्ने र त्यहाँ मासिक ३ लाख तलबको काम लगाइदिने विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक–पटक गरी जम्मा ३० लाख रुपैँया रकम लिई सम्पर्क विहीन भई ठगी गरेको अभियोग उनीमाथि छ ।
वैदेशिक रोजगार विभागबाट अपराध अनुसन्धानमा गरिएको पत्राचार अनुसार खटिएको विशेष प्रहरी टोलीले निज सयना श्रेष्ठको खोजतलास गर्ने काठमाडौँको लाजिम्पाटबाट पक्राउ गर्नुका साथै थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको प्रहरीले जनाएको छ ।