पौष ६ काठमाडौं नुवाकोटमा आइतबार कामदार बोकेको मिनिट्रक दुर्घटना हुँदा २ मजदुरको घटनास्थलमै ज्यान गएको छ भने चालकसहित ६ जना सख्त घाइते भएका छन्। विदुर नगरपालिका ६ मुलथला नजिकै कमेखोलामा मुलथलाबाट चैनपुरतर्फ जाँदै गरेको नागार्जुन कन्ट्रक्सनको वा २ क ७९१० नम्बरको मिनिट्रक बिहान करिब ८ बजेतिर घुमाउरो सडकबाट एकसय मिटर तल खसेको थियो।
दुर्घटनामा रसुवा घर भएका चाइनिज उपनामले चिनिने १८ वर्षीय सुदीप तामाङ र खोटाङका १९ वर्षीय अविरल तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। घाइतेहरुलाई नुवाकोट जिल्ला अस्पताल त्रिशूली र वट्टस्थित सन्जिवनी पोलिक्निकमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौ पठाइएको बताइएको छ। चालकको लापरवाहीका कारण दुर्घटना भएको अनुमान छ।