काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएशनले तेस्रो दिन पनि बिरोध प्रदर्शन गरेको छ । मंगलवार पनि नेपाल बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै बिरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अविलम्व प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए । उनले आन्दोलन एक हप्तासम्म जारी रहने बताए ।
उनले भने, ‘नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश नियुक्ति हुन नसकेको विषयमा अभियान सञ्चालन गरेको छ । नेपालको संवैधानिक परिषद्ले नेपालको प्रधानन्यायाधीश नियुक्ति गर्न सकेन वा गरेन, त्यसका कारणले हामी आन्दोलित छौँ । बार एशोसिएशनका ९० वटै बार युनिटमा आज कार्यक्रम भएको छ, तेस्रो दिन हो, एक हप्तासम्म जारी हुनेछ । त्यसपछि पनि समाधान आउन सकेन भने एक हप्तापछि पुनः नयाँ किसिमको आन्दोलन शुरु गर्नेछ ।’
कानून व्यवसायीहरुले संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्व गर, सर्वोच्च अदालत र सबै अदालतहरुमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका थिए ।