काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने प्रकरणमा साँलग्नताको आशंकामा पक्राउ परेका सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
बुधबार बेलुका रुपन्देहीबाट पक्राउ परेका सन्दीपलाई काठमाडौं ल्याएर अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरीले जनाएको छ । उनलाई बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याएको हो ।
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बुधबार राति भैरहवा हिरासतमा राखिएको थियो । जिल्ला अदालतले बुधबार टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पूर्वगृहसचिव सचिव टेकनारायण पाण्डे, मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । गिरोहका नाइके भनिएकाहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पनि पक्राउ परिसकेका छन् ।