काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताएका छन् ।
शनिबार बिहान काठमाडौंको बनस्थलीस्थित मानव सेवा आश्रममा पुगेका उनले त्यसलाई निरन्तरता दिन र अझ उचाईमा पुर्याउने काममा पनि सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए ।
उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि त्यहाँका पदाधिकारीहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहालको भेट आज/भोली नै गराउने पनि बताए । उनले प्रधानमन्त्री दाहालले राम्रो कामलाई आत्मासात गर्दै सकेको सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै सो आश्रमले गरेको मानवीय सेवा संचालनमा ल्याई राख्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
मानवीय सेवा महान सेवा भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई मर्न नदिन सरकार र आफू व्यक्तिगत रुपमा पनि लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले भने, ‘मानव सेवा जस्ता कामको निरन्तरताका प्रक्रियालाई अगाडि बढाउन र यसलाई सफल पार्न नेपाल सरकारको तर्फबाट र मेरोतर्फबाट व्यक्तिगत रुपमा पनि म सधैं तपाईहरुको साथमा रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । अहिले म धेरै कुरा भन्न चाहन्न । जसरी तपाईहरुले काम व्यवहारद्वारा आफूलाई नयाँ खालको मान्छेको रुपमा आफ्नो पहिचान बनाउनु भएको छ । त्यस्तै गरी म कामद्वारा नै तपाईहरुको यो उद्देश्यलाई सफल पार्न सहयोग पुर्याउन चाहन्छु । त्यसको निम्ति आज नै म सम्माननीय प्रधानमन्त्रीज्यूसँग पनि यसबारेमा यसलाई कार्यसूचि बनाएर म छलफल गर्नेछु । सम्माननीय प्रधानमन्त्रीज्यूको पनि अहिले देशमा जे जति राम्रा कामहरु छन । सबैलाई हामीले आत्मासात गरौं । सबैलाई स्थापन दिऊ । सबैको सम्मान गरौं । र, त्यसमार्फत हामीले जे–जे गर्नु पर्छ । र, त्यो कामलाई निरन्तरता दिन जे–जे सहयोग गर्नु पर्छ । त्यो गरौं भन्ने दृष्टिकोण र धारणा रहेको छ । त्यसकारणले उहाँसँग समेत सरसल्लाह गरेर सरकारको तर्फबाट यो मानव सेवा आश्रमलाई जीवित राख्न, यसलाई संचालनमा ल्याई राख्न र यो सहयोगापेक्षी सडक आश्रित मानव मुक्त नेपाल बनाउने प्रक्रियालाई अगाडि बढाउन सम्पूर्ण प्रयत्न सरकारको तर्फबाट गर्ने पनि म विश्वास दिलाउन चाहन्छु । र, सम्भवतः आज वा भोलितिरनै म हाम्रो रामजी अधिकारीज्यू र मानव सेवा आश्रमका साथीहरुलाई सम्माननीय प्रधानमन्त्रीसँग पनि भेट गराउनेछु । मिल्यो भने अरु प्रमुख पार्टीका नेताहरुसँग भेट गराउनेछु । र, यो मानव सेवा जस्तो महान काम तपाईहरुले गरिरहनु भएको छ । त्यसलाई हरहालतमा मर्न नदिन, त्यसलाई निरन्तरता दिन, अझ उचाईमा पुर्याउन सम्पूर्ण रुपले सहयोग रहने प्रतिवद्धता व्यक्ति गर्छु ।’
उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि आफूले प्रमुख राजनीतिक दलका नेतृत्वसँग पनि छलफल गर्ने बताए । उनले मानवीय सेवाको काममा सबैले साथ, सहयोग र सम्मान गर्नुपर्ने स्मरण गराए ।
त्यस अवसरमा आश्रमका संस्थापक रामजी अधिकारीले आफूहरुले अवको २ वर्ष भित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल बनाउने गरी काम गरिरहेको जानकारी उपप्रधानमन्त्री श्रेष्ठलाई गराएका थिए ।