काठमाडौँ । नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले गरेकाे करिब साढे ३ महिना लामाे अनुसन्धानबाट भारतीय नागरिकहरूले नक्कली कागजात पेस गरी नागरिकता लिएको तथ्य सार्वजनिक गरेकाे हाे ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ । उनले भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिम पट्टी ग्राम इब्राइमपट्टी पञ्चायत भिमपूरा थाना बेल्थरा रोड स्थायी घर भएकाहरूले झुटा विवरण पेस गरी नेपालको नागरिकता दिएको बताए ।
प्रहरीका अनुसार भारतीयहरूले नेपालको सिरहा, बारा, पर्सा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको छ । भारत बिहार घर भई काठमाडौँको शंखमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमती देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्तालाई पक्राउ गरेको हो । बिहार नै घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोङ्गबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलङ्की बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता पनि पक्राउ परेका छन् ।
भारतीयहरूले वंशजको आधारमा नै नागरिकता लिएर नेपालका विभिन्न स्थानमा व्यापार व्यवसाय समेत गर्दै आएको भेटिएको र एउटै प्यार्टनमा सबै जिल्लाका एकैसाथ अनुसन्धान गरेर सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।