सुनौलो नेपाल – शुक्रबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक अन्तिम समयमा सूचना टाँस गरेर आगामी पुष १६ गते दिउँसो एक बजेसम्मका लागि स्थगित भएको जानकारी गराईयो ।
सभामुख चयनको प्रक्रिया सुरु हुने कार्यतालिका भएको शुक्रबारको बैठक अन्तिम समयसम्म पनि सत्तारुढ दल नेकपाले सभामुखको बिषयमा टुंगो लगाउन नसकेपछि सारिएको हो ।
नेकपामा सभामुख कसलाई बनाउने भन्नेमा बिबाद केही समय अगाडीसम्म ठुलै बहसको बिषय थियो तर शुक्रबार भने वर्तमान उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन नेताहरु सहमति नजिक पुगेपछि बैठक एकाएक सारीएको नेकपा निकट स्रोतले बताएको छ।
राष्ट्रपति बिद्या देवी भण्डारीको चाहना तुम्बाहाम्फेलाई नै सभामुख बनाउने थियो। तर नेकपामा सभामुख पूर्व माओबादिले आफ्नो पोल्टामा ल्याउन खोजेपछि प्रधानमन्त्रीले समेत अर्कै पात्रलाई देखाएका कारण केहि आन्तरिक द्वन्द देखिएको थियो । उता नेकपाकै महिला सांसदहरुले डा शिवमायालाई हटाउदा राम्रो संदेश नजाने र हरेक हिसावले सक्षम भएको भन्दै उनलाई नै बनाउदा नेकपा उत्पीडित जनजाती महिलाको पक्षमा देखिने भन्दै दबाब दिएका कारण नेतृत्वमा समेत दबाब सिर्जना भएको थियो ।
सबैको चाहना अनुरुप शुक्रबार राष्ट्रिय सभामा केहि हेरफेर हुने गरी प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच सहमति बनेपछि प्रतिनिधि सभाको सभामुख वर्तमान उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई नै बनाउने गरी सहमति भए पनि उपसभामुख कसलाई बनाउने भन्ने बिषयमा छलफल गर्नुपर्ने भएकोले चार दिन ढिलो सारिएको स्रोतको भनाई छ।
संबिधानमा सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने स्पष्ट व्यवस्था छ र समाजबादी पार्टी नेपालले भर्खरै सरकार छोडेका कारण राजपालाई सरकार ल्याउन र अनुकुल मिल्ने सहमति भएमा उसलाई उपसभामुख दिन नेकपा तयार भएकोले राजपासंग छलफल प्रक्रियाका लागी समय राखिएको बताइएको छ ।
तीन महिना अगाडी तत्कालिन सभामुख कृष्ण बहादुर महरालाई सचिवालयमै कार्यरत महिला कर्मचारी माथी यौन दुर्ब्यबहार आरोप लागेपछि सभामुख पद रिक्त रहदै आएको छ ।