logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कानुन दिवस: नागरिकलाई छिटोछरितो तथा सर्वसुलभ न्याय दिनुपर्नेमा बारकाे जोड

    कानुन दिवस: नागरिकलाई छिटोछरितो तथा सर्वसुलभ न्याय दिनुपर्नेमा बारकाे जोड

    966
    Shares
    कानुन दिवस: नागरिकलाई छिटोछरितो तथा सर्वसुलभ न्याय दिनुपर्नेमा बारकाे जोड

    काठमाडौँ । नेपाल बार एशोसिएशनले कानुन दिवसको अवसरमा नागरिक तथा आम सेवाग्राहीलाई छिटोछरितो तथा सर्वसुलभ न्याय दिनुपर्नेमा जोड दिएको छ ।

    नेपाल बार एशोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरले आज जारी गरेको शुभकामना सन्देशमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायापालिका, विधिको शासन, लोकतन्त्र र मानव अधिकार कायम गर्नुपर्ने उल्लेख छ ।

    ‘कानुन व्यवसायीले जिम्मेवारी वहन गर्दा पेसागत दक्षतासँगै व्यावसायिक आचरण र निष्ठामासमेत प्रतिबद्ध हुने प्रेरणा आजको दिनमा प्राप्त होस्’, शुभकामना सन्देशमा भनिएको छ ।

    नागरिक तथा आम सेवाग्राहीलाई छिटोछरितो तथा सर्वसुलभ न्याय एवम् न्यायमा सहज पहुँच हामी सबैको सरोकारको विषय भएकाले न्यायापालिका स्वतन्त्र, निष्पक्ष र सक्षम भएमा मात्र विधिको शासन, लोकतन्त्र र मानवअधिकारले सार्थकता पाउने सन्देशमा उल्लेख छ ।

    ‘न्यायापालिकामा विकृति, विसङ्गति र भ्रष्ट्राचार व्याप्त रहेको भन्ने वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको प्रतिवेदन र बारको सहभागितामा तयार हरिकृष्ण कार्कीको प्रतिवेदनले उजागर गरेको छ’, सन्देशमा भनिएको छ, ‘यसरी उजागर गरिएका विकृति, विसङ्गति र भ्रष्टाचारको निर्ममतापूर्वक अन्त्य गर्न सकिएमा मात्र न्यायापालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन जाने र कानुन दिवस मनाउनुको पनि सार्थकता सिद्ध हुन्छ ।’

    बारले लामो अवधिसम्म आन्दोलन गरेको र सोही विषयलाई हालको कार्यसमितिले स्वामित्व ग्रहण गरी न्यायापालिकाको शुद्धिकरण र सुदृढीकरणको अभियान अन्तर्गत विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य, विचौलियाद्वारा न्याय किनबेच हुन्छ भन्ने कुराको विरोधका साथसाथै, प्रधान न्यायाधीशको नियुक्ति समेतको माग राखी हामी निरन्तर अभियानमा रहेको सन्देशमा उल्लेख छ ।

    दिवसका अवसरमा अग्रजप्रति सम्मान व्यक्त गर्दै स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायापालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको संरक्षण र प्रवद्र्धन गर्दै व्यावसायिक र मर्यादित बारका लागि सदा क्रियाशील रहने प्रणसमेत गरेको सन्देशमा उल्लेख छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend