बुटवल ।अर्घाखाँचीमा घरमा लागेको आगो निभाउने क्रममा घाइते भएका थप एक जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ ।
अर्घाखाँचीमा आगलागीमा पाँच जना घाइते भएमा चार जनाले ज्यान गुमाएका छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्सपेक्टर कृष्णप्रसाद घिमिरेले दिएको जानकारी अनुसार भूमिकास्थान नगरपालिका–२ का ३६ वर्षीय माधव बेल्वासेको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
भूमिकास्थान नगरपालिका–२ तिरतिरे जंगलमा मंगलबार लागेको आगो स्थानीय पदम बेल्वासेको दुई तले कच्ची टिनले छाएको घरमा सल्केको थियो ।
आगो निभाउने क्रममा गम्भीर घाइते भएको पाँच जनामध्ये ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेले यसअघि नै ज्यान गुमाइसकेका थिए ।
पदमलाई थप उपचारको लागि काठमाडौ लैजाने क्रममा नारायणगढमा र पिताम्बरको मिसन अस्पतालबाट काठमाडौं लैजांदै गर्दा पाल्पामै मंगलबार राति मृत्यु भएको हो ।
कीर्तिपुर अस्पतालमा उपचाररत माधव र घनश्यामको भने बुधबार बिहान ७ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै, २६ वर्षीय अस्मिता बेल्वासेको पाल्पा मिसन अस्पतालमा उपचार भैरहेको र उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।