logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • बाजुरामा असिनापानीले अन्नबालीमा क्षति, भोकमरीको चिन्तामा किसान

    बाजुरामा असिनापानीले अन्नबालीमा क्षति, भोकमरीको चिन्तामा किसान

    1.2K
    Shares
    बाजुरामा असिनापानीले अन्नबालीमा क्षति, भोकमरीको चिन्तामा किसान

    बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा गत बुधबार दिउँसो आएको असिनापानीले अन्नबाली, तरकारी र फलफूलमा क्षति पुर्‍याएको छ ।

    हिउँदे बाली भित्र्याउन नपाउदै आएको असिनापानीले खेतबारीमै गहुँ, जौँ सखाप पारेपछि किसानहरू चिन्तित बनेका छन् । अहिले उनीहरु भोकै परिने हो कि भन्ने चिन्तामा छन् ।

    कम उत्पादन हुने र हिउँदभरि दुःख गरेर लगाएको खेती असिनापानीले सखाप पारेपछि बालबच्चा कसरी पाल्ने भन्ने चिन्ता बढेको खप्तड छेडेदह गाउँपालिका–७ बुढाबाडाकी भीम्ला बुढाले दुःखेसो पोखिन् । उनले भनिन्, ‘असिनापानीले गहुँ, जौँ, तरकारीमा आलु प्याज, लसुन, फलेको फलफूलमा क्षति पुग्यो ।’

    खप्तड छेडेदह –६ र ७ वडाका करिब सात हजार रोपनी जग्गाको अन्न, तरकारी र फलफूल खेतीमा क्षति पुगेको असिनापीडित किसानले जनाएका छन् ।

    असिनाबाट पीडित बनेका किसानले बिहान खेतबारी गएर टुलुटुलु पाकेको गहुँ र जौँ हेर्नुबाहेकको विकल्प नरहेको ओलीका कृषक बिर्ख ओलीले बताए।

    उनले असिनाबाट पीडित किसानलाई राहतभन्दा पनि क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

    असिनापानीले वडा नं ६ को मैतोला, नाइना र सुदाडामा अन्न बाली, तरकारी र फलफूल खेतीमा क्षति पुर्‍याएको छ भने वडा नं ७ को बुढाबाडा, लम्गाउँ, गुम्लागाउँ, कठायतबाडा, ओलीगाउँ र दानीगाउँमा नोक्सानी गरेको वडा नं ७ का वडाध्यक्ष खगेन्द्र रावतले बताए ।

    क्षतिको विवरण सङ्कलनमा सुरसार छैन

    असिनापानीले खप्तड छेडेदह–६ र ७ वडाका किसानले खेतबारीमा लगाएको अन्न, तरकारी र फलफूल खेतीमा क्षति पुर्याएको भए पनि स्थानीय सरकार पालिका र कृषि ज्ञान केन्द्र बाजुराले विवरण सङ्कलनमा कुनै सुरसार नगरेको पीडित किसानले गुनासो गरेका छन् ।

    असिनापानीले वडा नं ६ का तीन सय ८० र ७ का पाँच सय २५ परिवार गरी नौ सय पाँच परिवार प्रभावित भए पनि गाउँपालिकाले क्षतिको विवरण सङ्कलनमा चासो नदेखाएको पीडित कृषक गौरी ओलीले बताइन् ।

    क्षतिको विवरण सङ्कलनका गर्न पालिका र कृषि ज्ञान केन्द्र बाजुराले चासो नदेखाएपछि क्षतिपूर्ति नपाउने चिन्ता कृषकमा परेको छ । असिनापानीबाट प्रभावित बनेका किसानको क्षतिको विवरण सङ्कलनका लागि गाउँपालिका र कृषि ज्ञान केन्द्र बाजुरालाई आग्रह गरेको भए पनि कुनै चासो नदेखाएर बेवास्ता गरेको वडा नं ७ का वडाध्यक्ष खगेन्द्र रावतले बताएका छन् ।

    खप्तड छेडेदह –६ र ७ वडाका नौ सय पाँच परिवारले लगाएको अन्नबाली, तरकारी र फलफूल खेतीमा करिब दुई करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।

    गाउँपालिका–७ का वडाध्यक्ष रावतका अनुसार वडा ६ र ७ का उक्त परिवारले करिब सात हजार पाँच रोपनीमा लगाएको अन्न, तरकारी र फलफूल खेती नोक्सानी पुर्‍याएकाले वडा कार्यालयले प्रारम्भिक अनुमान गरेको बताए ।

    वडा कार्यालयको अनुगमन गर्दा प्रारम्भिकरूपमा दुई करोड बढीको क्षति भएको अनुमान गरिएको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend