काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन दुःखको कारण भएको टिप्पणी गरेका छन्।
सरकारसँग अर्थतन्त्रलाई वृद्धि गर्ने कुनै योजना नभएको र खासमा सरकारसँग कुनै नीति नै नभएको ओलीले आरोप समेत लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले अर्थतन्त्र ध्वस्त वर्तमान सत्ता गठबन्धनका कारण भएको बताए । ‘के यहि दिन ल्याउनका लागि, के देशलाई ओह्रालो ल्याउनका लागि, अर्थतन्त्रलाई ध्वस्त बनाउनका लागि यो गठबन्धन बन्नुपरेको थियो ?’ उनको प्रश्न थियो, ‘यो गठबन्धन देश र जनताका लागि बनाएको कि देश र जनतालाई कष्ट दिनका लागि बनाएको ? दुःखको कारण भएको छ यो गठबन्धन ।’
पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले वर्तमान गठबन्धन नै अर्थतन्त्रको संकटको कारक भएको बताए ।
सरकारसँग नीति र कार्यक्रम नै नभएको ओलीको भनाइ थियो । उनले सरकार नीति शून्यतामा अगाडि बढेको बताएका हुन् ।
सरकारले ल्याएको नीति तथा कार्यक्रममा आर्थिक वृद्धिका योजना नै नभएको उनले बताए । ‘यो प्रस्तावित नीतिमा उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने कुनै योजना नै छैन । आधुनिक पूर्वाधार निर्माणका कार्यहरू तीव्र गतिमा अगाडि बढाउने उत्साह नै छैन । सामाजिक न्याय कायम गर्ने दृष्टिकोण पनि छैन । संक्षिप्तमा भन्दा नीति तथा कार्यक्रमको उद्देश्य छैन । कहाँ पुग्ने भन्ने गन्तव्य छैन । कसरी जाने मार्गचित्र छैन । सर्वत्र नीति शून्य नीतिको अवस्था छ ।’ उनले भने ।
नीति तथा कार्यक्रमले मुलुकको वर्तमान अर्थतन्त्रको अवस्थाबारे जानकारी नगराएको पनि ओलीको भनाइ थियो ।