काठमाडौं । प्रहरीले नक्कली भूटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । सोमवार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता अच्युतमणि न्यौपानेले काठमाडौं जिल्ला प्रहरी कार्यालयबाट प्रतिवेदन प्राप्त भएको बताए ।
उनले अब प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनको विश्लेषण,प्रमाणका आधारमा अध्ययन गरिने बताए । उनले सरकारी वकिल कार्यालयमा प्राप्त भएको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र तयार गर्ने पनि बताए । उनले जिल्ला सरकारी वकिल कार्यालयले प्रहरी प्रतिवेदन अध्ययन सकेर बुधवारसम्म जिल्ला अदालतमा अभियोग पत्र दायर गरिसक्ने बताए ।
उनले सरकारी वकिल कार्यालयले क–कसलाई के—के मुद्दा लगाउने भन्ने विषयमा अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मात्रै अन्तिम निर्णय गर्ने बताए ।
उनले भने, ‘नक्कली भूटानी शरणार्थी प्रकरण प्रहरीले अनुसन्धान सकेर मुद्दा हामीसँग आएको छ । प्रहरी अनुसन्धानमा के देखियो,आधार प्रमाणहरु के हुन् । को–को बिरुद्ध मुद्दा चल्ने वा नचल्ने अवस्था हो । कस्तो अपराध हो । कति कसुर वा विगोको माग दाबी कति हो भन्ने पछिका कुरा हुन् । हामी शुरुवातमा मुद्दाको अनुसन्धानको मिसिङ छ । यो विश्लेषण गर्छौं । आधार प्रमाणहरु हेर्छौं । यो आधारमा हामी निर्णय गर्छौं । हामीले भर्खरै प्रतिवेदन प्राप्त गरेका छौं । अदालतमा मुद्दा लाने समय १० गतेसम्म रहेकाले त्यही समयमा प्रतिवेदन हेरेर लैजान्छौं । पक्राउ परेकाहरुलाई ठगि र संगठित अपराध र राज्य बिरुद्धको अपराधको मुद्दा लाग्ने सम्भावना रहेको छ ।’
नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निस्कर्ष प्रहरीले निकालेको र रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
न्यौपानेकाअनुसार पक्राउ पर्नेहरुलाई ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते) र राज्य बिरुद्धको अपराधमा समेत मुद्दा चलाउनसक्नेछ ।