काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ऐन, कानूनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् ।
मंगलवार काठमाडौंमा स्पिकर फोरम र एमसिडिएफको संयुक्त आयोजनामा भएको जलवायु परिवर्तनसम्बन्धी नीतिगत वहसलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नीति बन्ने तर कार्यान्वयन नहुने कारणले आवश्यक ऐन बनाउने सवालमा पनि समस्या उत्पन्न भएको बताएका हुन् ।
उनले सरकारको नीति तथा कार्यक्रम माथि संघीय संसदमा हुने छलफल पनि कर्मकाण्डी बनेको टिप्पणी गरे ।
उनले बजेट लेखिसकेपछि प्रि बजेटका नाममा हुने छलफलको कुनै औचित्य नरहेको र त्यसले मुलुकको समस्या समाधान पनि गर्न नसक्ने दाबी गरे ।
अध्यक्ष तिमिल्सिनाले भने, ‘मुख्य समस्या भनेको ऐन कार्यान्वयन नै हो । ऐन बनेका छन्, बनाउँदै जाने हो, कार्यान्वयनमा जाँदा के आवश्यक छ, त्यही आधारमा बन्दै जाने हो । कार्यान्वयनमा नजाँदा त भएका ऐन पनि कार्यान्वयन हुँदैनन् र अरु आवश्यक्ताको महशुस पनि हुँदैन । ऐन, नीति, कार्यक्रम कार्यान्यन गर्ने सवालमा बजेट नभइ केही हुँदैन । बजेट माग भएकोलाई मात्रै हे¥यो भनेपनि जलवायु परिवर्तन, दिगो विकासका लक्ष्य प्राप्ति गर्न कति माग भएको छ, माग्नेले कति मागेका छौँ र दिनेले कति दिनुहुन्छ योजनाहरुमा ? बजेटमा हाम्रा छलफलहरु कर्मकाण्डी नै भएका छन् । प्रतिपक्षले सय रुपैयाँ घटायो भन्छ, सरकार पक्ष त्यसमा तलमाथि हुँदैन । छलफल पहिला गरेर ति सुझावको आधारमा बजेट ल्याउने वा बजेट ल्याएपछि छलफल गरेर परिवर्तन गरेको कुरालाई स्वीकार्न र सरकार फेल भएको छैन भन्ने बनाउनसके मात्रै त्यो सार्थक हुन्छ । बजेटको तयारी तीन महिना अगाडि भनेको छ, अहिले तीन चार दिन बजेटका लागि भनेर छलफल गरेर समय कसरी पुग्छ । बजेट ल्याउनु भन्दा १५ दिनअघि प्रि बजेट छलफल गराएर के समाधान हुन्छ, हाम्रा तरिका यस्ता छन्, हामी उल्टो तरिकाबाट काम गर्दैछौ । दिगो विकासको लक्ष्य प्राप्तिको लागि माननीयज्युहरुले आवाज उठाउन जरुरी छ ।’
अध्यक्ष तिमिल्सिना वातावरण संरक्षण गर्दे दिगो विकास लक्ष्य हासिलका लागि विद्युतीय सवारीमा विशेष छुटको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।