पाँचथर । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले नक्कली शरणार्थी र भ्रष्टाचार प्रकरणको छानबिनमा अन्य दलहरुले सहयोग नगरेको आरोप लगाएका छन् ।
पाँचथरको फिदिममा शनिबार नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरले आयोजना गरेको कार्यक्रममा आङ्देम्बेले नक्कली शरणार्थी र भ्रष्टाचार प्रकरण छानबिन गर्न सरकारले तदारुकता देखाइरहेका बेला आफूलाई भ्रष्टाचार विरोधीका रुपमा परिभाषित गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले समेत समर्थन फिर्ता लिएको बताएका हुन् ।
भ्रष्टाचार र नेपालीलाई शरणार्थी बनाएर बिक्री गर्ने गिरोहमा संलग्न जोकोही भए पनि छुट दिन नहुने उनको तर्क थियो ।
आङ्देम्बेले संसद् छलफल र कानुन निर्माण गर्ने थलो भएकाले संसद्मा कुनै सांसदले बोलेकै विषयलाई लिएर अवरुद्ध गर्नु पनि विधिसम्मत नभएको टिप्पणी गरे ।
संसद् अवरुद्ध गर्दा विधि र प्रक्रिया ओझेलमा पर्ने भएकाले सबै दलका शीर्ष नेता र संसदीय समिति गम्भीर बन्नुपर्ने धारणा पनि उनले व्यक्त गरे ।