काठमाडौं । ११ औं एनएसए कप पौडी प्रतियोगिता आईतवारबाट सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा हुने भएको छ ।
नेपाल पौडी संघले बिहीवार पत्रकार सम्मेलनको आयोजना गरेर वार्षिक कार्यक्रम अनुसारको ११ औं एनएसए कप पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
दुई दिने प्रतियोगितामा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा हुने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्रचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ १७० जना र महिलामा ९० जना गरी कुल २६० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । खुला समूहतर्फ २८ स्वर्ण र उमेर समूहमा ३६ स्वर्णका लागि प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगिताबाट आगामी सेप्टेम्बरमा आयोजना हुने १९ औं एशियाली खेल अन्र्तगत पौडी विधामा खेलाडी छनोट समेत हुनेछन् । एसियाली खेलकुद प्रतियोगिता आगामी सेक्टेम्बर २३ देखि अक्टोवर ७ तारिक आयोजना हुने तालिका रहेको छ ।
प्रतियोगितामा नेपाली २ पुरुष र २ महिला तथा १ पुरुष र १ महिला वैकल्पिक खेलाडीहरुको अन्तिम छनोट गरिने संघले जनाएको छ । यस्तै २ पुरुष र २ महिला तथा १ पुरुष र १ महिला वैकल्पिक खेलाडीहरु यसै प्रतियोगिताबाट मित्र राष्ट्र जापानको फुकुहवा शहरमा हुने च्याम्पियनसिपका लागि छनोट हुनेछन् ।
संघले खुलातर्फ उत्कृष्ट १/१ महिला तथा पुरुष खेलाडीहरुलाई जनही १०/१० हजार हौसला स्वरुप पुरस्कार प्रदान गर्ने समेत जनाएको छ । त्यस्तै सबै उमेर समूहका खेलाडीहरुलाई ३/३ हजार पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा विराटनगर, वीरगञ्ज, नेपालञ्ज तथा उपत्ययकाका विभिन्न ३६ विद्यालयहरुले सहभागिता जनाउनेछन् ।
उमेर समूहको प्राप्त नतिजाको आधारमा उत्कृष्ट ३ विद्यालयलाई प्रथम, द्वितिय र तृतीयको रुपमा टिम च्याम्पियन ट्रफी प्रदान गरिनेछ ।