काठमाडौं । मलेसियासँगको ५ खेलको टी–२० क्रिकेट शृंखलामा नेपाल विजयी भएको छ ।
पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले शृंखला ३–२ ले जितेको हो ।
घरेलु टोली मलेसियाले जितका लागि दिएको ११० रनको लक्ष्य नेपालले खेल सकिन ४ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्यो ।
नेपाललाई जिताउन सिता राना मगरले ३४ रन बनाइन् । रुबिना क्षेत्रीले २३ र अप्सरी बेगमले १५ रन बनाइन् ।
पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा १०९ रन जोडेको थियो ।
मलेसियाको लागि ओपनर वान जुलियाले सर्वाधिक ४७ रन बनाइन् । विनफ्रेड दुराइसिंगमले २४ र माहिरा इजातीले २० रन बनाइन् ।
पहिलो विकेटका लागि वान जुलिया र विनफ्रेड दुराइसिंगमले ३८ रनको साझेदारी गरेका थिए । नेपालकी कविता जोशीले आठौं ओभरमा विनफ्रेडलाई एलबीडब्लु धरापमा पार्दै साझेदारी तोडिन् ।
त्यही ओभरमा कप्तान मास एलिसालाई कविताले जोशीले एलबीडब्लु आउट गरिन् ।
त्यसपछि वान जुलिया र माहिरा इजातीले तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरे । इश्वरी विष्टले १९औं ओभरमा माहिरालाई आउट गर्दै यो साझेदारी तोडिन् ।