काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले राष्ट्रपति संसद्भन्दा माथि नहुने बताएको छ ।
एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रतिनिधिसभाको सोमबारको बैठकमा राष्ट्रपतिले संसद्को मर्यादा ख्याल राख्नुपर्ने उल्लेख गर्दै राष्ट्रपति संसद्को अंग भएको र संसद्भन्दा माथि नभएको बताएका हुन् ।
उनले राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अधिकारमाथि हस्तक्षेप गरेको भट्टराईले मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई उक्साएर नागरिकता विधेयक प्रमाणीकरण गरेको हो भन्दै प्रश्न समेत गरे ।
‘संविधानको धारा ६१ र ६६ मा विधेयक प्रमाणीकरण गर्ने अधिकार कहाँ छ ? संविधानको धारा ११३ ले विधेयक प्रमाणीकरण गर्ने अधिकार दिएको छ । प्रधानमन्त्रीले राष्ट्रपतिलाई उक्साउने ? राष्ट्रपति संसद्भन्दा माथि हुँदैन । राष्ट्रपति संसद्को अंग हो,’ उनले भने, ‘राष्ट्रपतिले संसद्भन्दा पठाएको सभामुख अथवा राष्ट्रिय सभा अध्यक्षले पठाएको विधेयक प्रमाणीकरण गर्ने अधिकार राष्ट्रपति कार्यालयसँग छ । त्यो विधेयकमा कुन सभामुखको नाम छ? तपाईंको नाम छ कि अग्निप्रसाद सापकोटाको ?’
सांसद भट्टराईले नागरिकताजस्तो संवेदनशील विषयमा खेलवाड नगर्न पनि आग्रह गरेका छन् ।
उनले प्रधानमन्त्रीले आफूसँग नभएको अधिकार प्रयोग गरेर राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न सिफारिस गरेको भन्दै आपत्ति जनाए ।