सुनौलो नेपाल – सहकारी क्षेत्रमा सहमति, सहकार्य र एकताको कुरा जतिसुकै आएपनि सहकारी क्षेत्रकै उच्च नेतृत्वले आफ्नो गुट तयार गर्ने र राम्रा भन्दा हाम्रा मान्छेलाई प्रवर्धन गर्ने कुरा मौलाउँदै गएको छ ।
यस्तै किसिमको गुटबन्दी गर्दै महासंघमा अध्यक्ष बन्ने र पछि पनि आफ्नो हालिमुहाली गर्ने दाउमा छन् अध्यक्षका प्रत्यासी मीनराज कँडेल । कँडेल सहकारी क्षेत्रमा लामो समय काम गरेको र साकोसको क्षेत्रबाट सहकारी केन्द्रीय नेतृत्वमा पुगेका भए पनि उनको गुटबन्दी गर्ने पुरानै बानी भएको सहकारी क्षेत्रमा चर्चा चल्ने गरेको छ । आफू नेफ्स्कूनमा अध्यक्ष हुँदा परितोष पौडेललाई टिपेर अस्वभाविक प्रवर्धन गर्दै आफ्नो लागि महासंघसम्मको सिँढि बनाएका कँडेलले महासंघकै विधान विपरित एक नयाँ पात्रलाई महासंघ सञ्चालकमा ल्याउनका लागि लबिङ गरिरहेका छन् । यो लबिङमा भर्खरै मात्र आफू गुटबन्दीमा नलाग्ने र सहकारी अभियानको मूलधारमा हिँड्ने बाचा गरी नेफ्सकूनको अध्यक्ष बनेका परितष पौडेलले सबै बाचा बन्धन भुलेर पुन: मीनराज गुटलाई बलियो बनाउने तिर लागेको चर्चा सहकारी बृत्तमा चलिरहेको छ । कँडेल र पौडेलको प्रयासमा महासंघमा ईन्ट्री हुन लागेकी पात्र हुन् इन्दिरा पन्त । कँडेललाई सर्वसम्मत अध्यक्ष उम्मेद्वार बनाउने नेकपाको घोषणासँगै पन्तलाई सन्चालकमा ल्याउन नेकपाको उच्चस्तरबाट दवाव समेत दिएको पाइएको छ । पन्त सन्चालकमा आए महासंघको विनियम विपरित हुनेछ । महासंघको विनियम बमोजिम महासंघको सदस्य संस्थामा एक कार्यकाल संचालक भएको व्यक्ती मात्र महासंघको संचालक हुन योग्य हुने व्यवस्था रहेको छ । पन्त महासंघको चुनाव सहितको साधारणसभामा जिल्ला कृषि संघ काठमाडौँबाट प्रतिनिधि भएर आएकी छिन् । यो मेसो परितोष पौडेलले नै मिलाईदिएको महासंघ निकट स्रोतको दाबी छ । पन्त आफू प्रतिनिधि आउने संघमा सञ्चालक छैनन् । उनी सो संघमा हिमालचुली कृषि सहकारी संस्थाबाट प्रतिनिधि हुन् तर सो संस्थामा पनि उनी कहिल्यै संचालक भएकी छैनन् । प्रारम्भिक संस्थामा उनको सदस्यता समेत प्रतिनिधि बन्नकै लागि मात्र बनाइएको भन्ने स्रोतको दाबी छ । पन्त रोयल बहुउद्देश्यीय सहकारी संस्थाकी संचालक हुन् । सो संघको सन्चालक वा लेखा समिति सदस्य भने होइनन् । संघको पुस ५ गते विहान ८ बजे बसेको सन्चालक समिति बैठकको निर्णय अनुसार उनलाई महासंघमा प्रतिनिधि पठाउने निर्णय भएको स्रोतले बतायो । उक्त संघले उनलाई सल्लाहकारको रुपमा प्रतिनिधि पठाएको भनी निर्णय गरिएको भए पनि छानबिन गर्ने हो भने कागजात मिलाउन मात्र यो सब गरिएको तर उनी वास्तविक रूपमा संघको प्रतिनिधि बन्नै नसक्ने सहकारीका नेताहरूको दाबी छ । परितोष पौडेलले त्यसै संघबाट महासंघको चुनावमा प्रतिनिधि जानको लागि लविङ गरेको भएता पनि कँडेलले कन्भिन्स गरेपछि पछाडि हटेर पन्तलाई प्रतिनिधि पठाएको बुझिएको छ । कँडेल आफू भने नेफ्स्कूनबाट प्रतिनिधि गएका छन् । महासंघको २०७१ सालमा भएको चुनावी साधारणसभामा पन्त पाल्पाको जिल्ला दुग्ध सहकारी संघबाट प्रतिनिधि भएकी थिईन् । तर त्यहाँको उनको संलग्नता समेत वास्तविक नभइ कागजी रूपमा मिलाईएको मात्र स्रोतको दाबी छ । त्यस संघमा त अझ उनी प्रारम्भिक संस्थाको प्रतिनिधित्व बेगरनै महासंघमा प्रतिनिधि भइ आएकी हुन् भन्ने चर्चा छ । सहकारीमा दशकौँ योगदान गरेका महिला नेतृहरूलाई राजनीतिक पहुँच र कँडेलसँगको साँठगाँठका आधारमा पछि पार्दै नेकपा निकट महिला नेतृहरू रूष्ट भएका छन् । यति हुँदा हुँदै पनि कडेँल भने आफूलाई पार्टी नेतृत्वबाट ठूलो दवाव आएको भन्दै पन्तलाई संचालक बनाउनका लागि मरिमेटेर लागेका छन् । पन्त राष्ट्रिय सहकारी विकास बोर्डमा विज्ञ सन्चालकको रुपमा नियुक्त भएका कारणले पनि महासंघको संचालक पद दावी गर्न नमिल्ने महिला नेतृहरूको तर्क छ । स्रोतका अनुसार पन्तले विहिबार हुने महासंघको मनोनयन दर्ता गर्दा २०७१ सालमा नै जिल्ला कृषि संघमा रहेको नक्कली प्रमाणपत्र पेश गर्दैछिन् । उनी २०७१ मा पाल्पा जिल्ला दुग्ध सहकारीबाट प्रतिनिधि भएको महासंघकै रेकर्डमा हुनुपर्छ । उनी जिल्ला कृषि सहकारी संघ काठमाडौँमा पहिले देखि नै सञ्चालक वा लेखा समितिमा नरहेको भन्ने कुरा उक्त संघको प्रतिवेदन हेर्दा नै प्रष्ट हुन्छ । महासंघका अध्यक्ष केशबप्रसाद बडालसँग केहि महिना अघिसम्म चरम मतभेद रहेका कँडेल पछिल्लो समय अध्यक्ष बन्नकै लागि बडालसँग नजिकिएका थिए । सधैँ सहकारी दर्शन, सिद्धान्त, मूल्य, मान्यता, आचरण, कार्यशैली कार्यपद्दतिको रटान लगाउने बडालले यस विषयलाई सम्बोधन गर्छन् वा गर्दैनन् हेर्न बाकी छ ।