logo

२०८१ असोज २५ शुक्रबार

logo
  • शुक्रबार, २५ असोज २०८१
  • कोषकै कर्मचारीबाट ठगिन्छन् पशुपतिनाथ

    कोषकै कर्मचारीबाट ठगिन्छन् पशुपतिनाथ

    1.3K
    Shares
    कोषकै कर्मचारीबाट ठगिन्छन् पशुपतिनाथ

    काठमाडाैं । पशुपतिनाथ मन्दिरपरिसरमा पूजापसल, पार्किङस्थल, क्याफेलगायत सञ्चालन गर्दै आएका व्यवसायीले त्यसबापतको भाडा पशुपति क्षेत्र विकास कोषलाई तिर्न अटेरी गरेको पाइएको छ। व्यवसायीले पशुपतिनाथ क्षेत्रको जग्गा र सटर प्रयोग गरेबापतको भाडा बुझाउन अटेरी गर्दा लामो समयसम्मको रकम उठ्न बाँकी छ। महालेखा परीक्षकको प्रतिवेदनअनुसार पशुपति क्षेत्र विकास कोषले पनि आम्दानी तथा खर्चका शीर्षक, सम्पत्ति कोषको वर्गीकरण, व्याख्यालगायत लेखा नीति र निर्देशिकासमेत तयार गरेको छैन। कोषका पूर्वसदस्य सचिव गोविन्द टन्डन कोषका पदाधिकारीहरूको कमजोरीका कारण व्यवसायीले भाडा तिर्न आनाकानी गरेको बताउँछन्।

    पूजा पसलबाट एक करोड उठ्न बाँकी

    मन्दिरपरिसरमा सञ्चालित १ सय ४८ वटा फूल पसलमध्ये अधिकांशले २०७३ सालदेखिको भाडा रकम बुझाएका छैनन्। कोषका अनुसार महिनाको ५ सय रूपैयाँ मात्र भाडा भए पनि उनीहरूले बुझाउन आनाकानी गरेका छन्। कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार पटकपटक ताकेता गर्दा पनि करिब १ करोड रूपैयाँ उठ्न बाँकी छ।

    पशुपतिनाथ मन्दिरपरिसरमा पूजापसल, पार्किङस्थल, क्याफेलगायत सञ्चालन गर्दै आएका व्यवसायीले त्यसबापतको भाडा पशुपति क्षेत्र विकास कोषलाई तिर्न अटेरी गरेको पाइएको छ।

    पशुपति क्षेत्र विकास कोष मन्दिर तथा पूजा व्यवस्था नियमावलीमा पशुपतिनाथ क्षेत्रभित्र पूजा सामग्रीको व्यापार गर्न अनुमति लिनुपर्छ र त्यसको अनुगमन कोषले गर्नुपर्छ। अहिले कोषको जग्गामा २४ वटा सोभिनियर पसल तथा १ सय ४८ फूल पसल सञ्चालित छन्। फूल पसलबाट १ करोड २२ लाख ४३ हजार रूपैयाँ भाडा नउठेको महालेखा परीक्षकको ६०औं प्रतिवेदनमा उल्लेख छ।

    महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भइसकेपछि फूल पसलबाट भाडा उठाउन ताकेता गरेको खतिवडाले बताए। ‘ताकेता गर्दा पनि करिब १ करोड रूपैयाँ उठ्न बाँकी छ,’ उनले भने। कोषसँग कुनै पनि अद्यावधिक लिखित सम्झौता पत्र नहुँदा कानुनी प्रक्रियाअनुसार कोषले पाउनुपर्ने भाडा दाबी गर्नसक्ने अवस्था नरहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। कोषका एक कर्मचारीका अनुसार अधिकांश फूल पसलले भाडा तिर्न अटेरी गर्दै आएका छन्। उनीहरूलाई स्थानीय नेताहरूले भाडा नतिर्न सल्लाह दिने गरेको ती कर्मचारीको भनाइ छ।

    क्याफेबाट ६५ लाख उठ्न बाँकी

    कोषका कार्यकारी निर्देशक खतिवडाका अनुसार पशुपति मन्दिर परिसरभित्र सञ्चालित क्याफेबाट भाडाबापतको करिब ६५ लाख रूपैयाँ उठ्न बाँकी छ। २०७२ सालको भूकम्प, कोरोना तथा प्रक्रियागत ढिलाइका कारण ६५ लाख रूपैयाँ उठ्न नसकेको खतिवडाले बताए। उनका अनुसार भूकम्प तथा कोरोना महामारीका बेला घाटा भएको भन्दै केही राहत दिन क्याफे सञ्चालकले कोषका पदाधिकारीसँग आग्रह गरेका छन्। यसमा निर्णय नभएको कोषका पदाधिकारीको भनाइ छ।

    पार्किङवापतको २५ लाख उठ्न बाँकी

    पशुपति मन्दिर परिसरभित्र गाडी तथा मोटरसाइकल पार्किङस्थल सञ्चालन गरेबापत महिनाको ३ लाख ६० हजार रूपैयाँ कोषलाई बुझाउने सम्झौता तत्व इन्भेन्सिमेन्टले कोषसँग गरेको छ। उसले सम्झौता गरे पनि त्यसबापतको रकम बुझाएको छैन। उसले करिब २५ लाख रूपैयाँ बुझाउन बाँकी रहेको खतिवडाको भनाइ छ।

    जग्गा कुथ लगतबाट आधा पनि उठ्दैन

    पशुपतिनाथ मन्दिरका नाममा १८ हजार ३ सय ४२ रोपनी जग्गा छ। त्यसमध्ये मन्दिर, जंगल, कैलाश चौर, गुह्येश्वरी मन्दिर क्षेत्र, जंगल, र बाटो पनि पर्छ। जंगल, मन्दिर र बाटोमा नपर्ने बाँकी जग्गा प्रयोग गरेबापत जग्गा प्रशासन तथा कुथ लगतबाट वर्षमा १० करोड रूपैयाँसम्म संकलन हुने अनुमान कोषका एक पदाधिकारीको छ। ती पदाधिकारीका अनुसार अहिले ४ करोड रूपैयाँ पनि कुथ लगतबाट उठ्न सकेको छैन। आजकाे नागरिक दैनिकमा खबर छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend