
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज (मंगलवार) देखि नेपाल एयरलाइन्सले नियमित उडान र अवतरण शुरु गरेको छ । मंगलवार बिहान मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको एयरबस ३२० भैरहवामा ‘ल्यान्ड’ गरेको छ ।
सोमवार काठमाडौंबाट क्वालालम्पुरतर्फ उडेको एयरबस ३२० जहाज मंगलवार क्वालालम्पुरबाट सिधै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भैरहवामा अवतरण गरेको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट सातामा दुई व्यावसायिक उडान गर्ने तयारी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवाबाट दिल्ली उडानको लागि भारतसँग हवाई रुटको अनुमति लिन सरकारले प्रयास गरिरहेको बताए । उनले छिट्टै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुने बताए ।
मन्त्री किराँतीले विमानस्थल नियमित र पूर्ण क्षमतामा सन्चालनका लागि प्रचार र बजारीकरण १० गुणाले बढाउन नेपाल एयरलाइन्सलाई निर्देशन दिए । उनले वायु सेवा निगमका विमानहरुलाई घाममा सुकाएर राख्ने छुट निगमलाई नभएको बताए ।
उनले भने, ‘नेपाल वायुसेवा निगमलाई आफ्ना जहाज घाम तपाएर आराम गरेर बस्ने छुट छैन । निरन्तर आफ्नो, लुम्बीनी,देशको प्रचार र बजारीकरणको निम्ति गति बढाएर अघि बढ्न अनुरोध र निर्देशन दिन चाहन्छु । लुम्बिनीबाट दिल्ली जान चाहन्छ हामी कोशिस गरिहेका छौं । अन्य गन्तव्य हामी जान चाहन्छौं । त्यो भएन भने पनि मेलेसियाबाट आएको जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलबाट मेलेसिया उड्ने निरन्तरता दिनुपर्छ ।’
नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई बुद्धिष्ट सर्किटको विकास गर्न कोलम्बो, बैंकक र म्यानमारको मण्डाले विमानस्थलबाट यात्रुहरुलाई लुम्बिनी ल्याउने प्रयासमा रहेको बताए । उनले लुम्बिनीको क्षेत्रबाट मेलेसिया लगायत अन्य देशमा वैदेशिक राजगारीमा जानेहरु घर फर्कन सहज बनाउने योजना रहेको बताए । उनले नेपाल एयरलाइन्सले सस्तो भाडादरमा उडान भर्ने बताए ।
अहिले क्वालालम्पुर–भैरहवाको प्रतियात्रु भाडादर ११ हजार ४६१ रुपैयाँ कायम गरिएको छ । क्वालालम्पुर–भैरहवा–काठमाडौंको भाडादर १२ हजार ३४६ रुपैयाँ कायम गरिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend