काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीबारे अन्य पार्टीका नेताले आलोचना गर्ने गरेको भन्दै उनले फलेको वृक्षमा सबैले ढुङ्गा हान्ने टिप्पणी गरेका छन् ।
शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवसको सन्दर्भमा आयोजित रक्तदान र वृक्षारोपण कार्यक्रममा उनले आफैँले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई फलेको वृक्षको उपमा दिएका हुन् ।
‘हामीलाई दुश्मन सम्झने सबै मञ्चबाट आजभोली नेताहरुको भाषणमा हाम्रो आलोचना भइरहेको देख्दा केहि साथिहरु दुःखी हुनुहुन्छ, म भन्छु दुःखी हुने कारणा छैन। ढुङ्गा त तेही रुखमा हानिन्छ। जुन रुखमा फल लागेको छ।’ उनले भने ‘राष्ट्रिय स्वतन्त्र पार्टी फल लागेको वृक्ष हो।’
मेयर हर्क साम्पाङले जस्तो पानी ल्याउने काम गरेर जवाफ दिएको उदाहरण सुनाउँदै उनले आफू र आफ्नो पार्टीले पनि जनताको मन खुसी हुने र जनअपेक्षाअनुसारको काम गरेर देखाउने बताए ।