काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले विद्यालय नियमित सञ्चालन हुनुपर्ने बताउँदै कक्षा अबरुद्ध गरिए कानूनी कारबाही गर्ने चेतावनी दिएका छन्।
शनिबार फेसबुकमार्फत उनले विद्यालयमा कुनै पनि खाले बन्द हड्ताल गर्नु नहुने बताउँदै विद्यालय बन्द गर्नेलाई आवश्यक कानूनी कारबाही प्रक्रिया अघि बढाउने बताएका हुन् ।
महानगर प्रमुख शाहले काठमाडौं महानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालय, त्यहाँ कार्यरत कर्मचारी एवं विद्यालय व्यवस्थापन समितिलाई विद्यालय सञ्चालनको लागि निर्देशन दिएका छन्। आइतबार सामुदायिक विद्यालयका पठनपाठन ठप्प गर्ने भन्ने सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण भएको पनि उनले बताए।
उनले विद्यालय शान्ति क्षेत्र भएको र त्यहाँ कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि बन्द, हडताल र अवरोध गर्न नपाइने कानुनी प्रावधान रहेको स्मरण गराएका छन् ।
उनले शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौं महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाउने चेतावनी जनाएका छन् ।
यस्तै, विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा अथवा बाधा गरिएमा समिति नै विघटन गर्ने उल्लेख गरेका छन् ।
कुनै पनि संस्थाले विद्यालय बन्द गर्न बल प्रयोग गरेमा प्रहरीसँग समन्वय गरी फौजदारी मुद्दा चलाउन पहलकमी लिने पनि उनले चेतावनी दिएका छन् ।