माघ २ काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको छ। समसामयिक विषयमा करिब साढे दुई घण्टा छलफल भएको बालुवाटार श्रोतले जनाएको छ।
बालुवाटार श्रोतका अनुसार सभामुख चयन, विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)को विषयमा छलफल भएको र वार्ता सकरात्मक भएको छ। प्रधानमन्त्री ओली र प्रचण्डबीच सभामुख चयनका विषयमा जारी गतिरोधलाई निकास दिएर जाने सहमति भएको स्रोतले बताएको छ।
हिउँदे अधिवेशन प्रारम्भ भएको तीन साता भए पनि सभामुख चयनको प्रक्रिया अघि बढ्न सकेको छैन। उम्मेद्वार चयनमा विवाद हुँदा निर्वाचन कार्यतालिका सार्वजनिक हुन सकेको छैन। सभामुख चयनका विषयमा दुई अध्यक्ष ओली र प्रचण्डबीच आ–आफ्नै अडान हुँदा संसदको बैठक स्थगित हुँदै आइरहेको छ।
सभामुखमा प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई अघि सारेका छन्। यस्तै, अर्का अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई अघि सारेका छन्। उपसभामुख तुम्बाहाङ्फेको पनि सभामुखमा दाबी कायमै छ।