पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकामा गएको पहिरोमा पुरिएकी एक बालिकाको उद्धार गरिएको छ । स्थानीयले फालेलुङ–३ खोलाघारीस्थित मनप्रसाद राईको घरमा पुरिएकी ९ वर्षीया जुना सावदेनलाई आज बिहान जीवितै उद्धार गरेका हुन् ।
उद्धार गरिएकी बालिका मनप्रसादकी नातिनी हुन् । उनी मावली घरमा बसेर स्थानीय विद्यालयमा अध्ययन गर्दै आएको बुझिएको छ ।
मध्यरातमा घर माथिबाट खसेको पहिरोले मनप्रसादको घर बगाएको थियो । मनप्रसाद र उनकी श्रीमती भागेर ज्यान बचाउन सफल भए पनि सुतिरहेकी जुना पहिरोमा फसेकी थिइन् ।
बालिकाको खोजी गर्ने क्रममा बिहान जीवितै उद्धार गरिएको फालेलुङ गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले जानकारी दिए ।
अविरल वर्षासँगै आएको बाढीमा पर्दा फिदिम नगरपालिका–४ हेवाखोला र माझटीार क्षेत्रका ५ जना बेपत्ता छन् । पाँचथर प्रहरी नायब उपरीक्षक हरि खतिवडाले उनीहरुलाई बाढीले बगाएको आशंका गरिएको जानकारी दिए ।