माघ ३ काठमाडौं पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रीएसंगै राजधानी काठमाडौंलगायत देशका विभिन्न भेगमा फेरि वर्षा भएको छ । नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले सोमबार नै सुदूरपश्चिममा भारी हिमपात गराएको थियो । त्यसपछि पश्चिम क्षेत्रमा वर्षा हुँदै बिहीबार मध्य र पूर्वी भूभागसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार साँझदेखि जुम्ला, हुम्ला, मनाङलगायत हिमाली भेगमा भारी हिमपात भइरहेको छ भने मध्य पहाड, पूर्वी पहाड र तराईमा वर्षा भइरहेको छ। महाशाखाका अनुसार शुक्रबार दिनभर बदलीको अवस्था रही देशका विभिन्न भेगमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पश्चिमी उच्च पहाडी भेगमा भारी हिमपात हुनेछ । आउँदो २४ घण्टा चिसो हुने हुनाले आम सर्वसाधारणलाई सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । शनिबारदेखि भने मौसममा सुधार आउने छ तर अर्को साता फेरि फाट्टफुट्ट वर्षा हुने सङ्केत देखिएको छ।
वर्षासंगै जनजीवन प्रभावित भएको छ। ग्रामिण सडकमा पहिरो खस्दा सवारी आवागमनमा अवरोध भएको छ भने चिसोको कारण विरामी भइ अस्पतालमा आउनेको संख्या पनि बढेको छ।