माघ ४ काठमाडौं द्वन्द्वकालीन मुद्दा समाधान गर्न सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसबीच समझदारी जुटेको छ। शनिबार बिहान बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा नियुक्ति र कानुन निर्माणबारे दुइ बुँदे समझदारी भएको हो ।
बैठकमा सहभागी नेताहरुका अनुसार दुवै आयोगसँग सम्बन्धित कानुनलाई संसदबाट प्राथमिकताका साथ पारित गर्ने समझदारी भएको छ।
यसअघि सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति गठन गरेको थियो।
उक्त समितिको बैठक अहिले बसिरहेको र समितिले आयोगमा पदाधिकारी सिफारिस गरेलगत्तै मन्त्रिपरिषद बैठक बसेर नाम अनुमोदन गर्ने सहमति भएको नेताहरुले बताएका छन।
राजनीतिक दलहरुबीच सहमति हुन नसक्दा सिफारिस समितिको बैठक ओझेलमा पर्दै आएको छ। प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवाबीच पटकपटक बैठक र छलफल भए पनि भागबन्डाको कारण आयोगका पदाधिकारी नियुक्त हुन सकेका छैन। द्वन्द्वकालीन मुद्दासँग प्रत्यक्ष जोडिएका दाहाल र देउवा आफूअनुकूलका पात्रलाई त्यहाँ पठाएर जोखिम घटाउने रणनीतिमा देखिन्छन्।