काठमाडौं । मंगलबार बझाङमा गाडी दुर्घटना हुँदा निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वी बहादुर सिंह, उनकी पत्नी अमृतादेवी सिंहको आज अन्तिम संस्कार गरिँदै छ ।
आज शनिबार जिल्ला अस्पतालदेखि चैनपुर बजार परिक्रमा गराई ११ बजे नेपाली कांग्रेस पार्टी कार्यालयमा शोक तथा श्रद्धाञ्जली अर्पण गरिने र दिउँसो सेती नदीस्थित धौला बगर मसान घाट डुंग्रीमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले बताएको छ ।
मन्त्री सिंहका कान्छा छोरा नर्वेबाट आउन समय लागेकाले चार दिनपछि (शनिबार) आज अन्तिम संस्कार गर्न लागिएको हो । अन्तिम श्रद्धाञ्जली दिन काङ्ग्रेसका सहमहामन्त्री बद्री पाण्डेय, परराष्ट्र मन्त्री एनपी साउद,सुदूर पश्चिमका मुख्य मन्त्री कमल बहादुर शाह, प्रदेशका मन्त्री तथा सांसदहरु बझाङ पुग्दैछन् ।
गृह जिल्ला बझाङ आउनेक्रममा मंगलबार मन्त्री सिंहसहित उनकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा परि ज्यान गएको थियो । मन्त्री सिंह चढेको सुपप्र ०१ ००१ झ ४८० नम्बरको जीप मंगलबार दिउँसो साढे १ बजे केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटनाग्रस्त भएको थियो ।
मन्त्री सिंहलाई कोहलपुर मेडिकल कलेजले मृत घोषणा गरेको थियो भने श्रीमती र भाउजुको घटनास्थलमै ज्यान गएको थियो । मन्त्री सिंहका गाडी चालक धर्मराज जोशी र मन्त्रीका सुरक्षाका लागि खटिएका प्रहरी सहायक हवल्दार दिपक भण्डारीको कोहलपुरबाट थप उपचारका लागि काठमाडौं लगिएको बताइएको छ ।